चीन र भारतका संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै

सरकारले सामरिक सुरक्षा र व्यापारिक महत्त्वका दृष्टिले संवेदनशील मानिएका सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाउँदै लगेको छ । दार्चुलाको छाङरुदेखि नवलपरासीको सुस्ता हुँदै ताप्लेजुङको ओलाङचुङगोलासम्म २०७७ वैशाखयता मात्रै सशस्त्र प्रहरी बल (एपीएफ) का ५० वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएका छन् । चीनतर्फको सीमा क्षेत्रमा पछिल्लो ६ महिनामा ५ स्थानमा बीओपी राखिएको छ भने भारततर्फ ४५ वटा बीओपी थपिएको छ । यसअघि चीनतर्फ एउटा पनि बीओपी थिएन । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्दै चीनतर्फ १५ र भारततर्फ ४ सय ८५ ठाउँमा बीओपी स्थापना गर्ने गरी काम अघि बढाएको छ । २०७६ चैतसम्म नेपाल–भारत सीमा क्षेत्रका १ सय २० स्थानमा मात्रै सशस्त्रका बीओपी तैनाथ थिए । चीनसँग नेपालका १५ जिल्लाको करिब १ हजार ४ सय १४ किमि र र भारतसँग २७ जिल्लाका करिब १ हजार ८ सय ८० किमि लामो सीमा जोडिन्छ ।

गत वर्ष नेपाली भूमि कालापानी क्षेत्र अतिक्रमण गर्दै भारतले आफ्नो नक्सामा समेटेपछि असन्तुष्ट बनेको सरकारले त्यसयता संवेदनशील सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई सशक्त बनाउँदै लगेको हो । आन्तरिक सुरक्षामा समेत तैनाथ एपीएफलाई पछिल्लो समय सीमा सुरक्षामा केन्द्रित गराइएको छ । केही वर्षभित्रै बीओपीको संख्या बढाएर ५ सय पुर्‍याउन सरकारले सशस्त्रलाई स्वीकृति दिएको छ । बीओपीको संख्या प्रदेश १ मा ३४, प्रदेश २ मा ५६, वाग्मती प्रदेशमा ७, गण्डकीमा २, लुम्बिनी प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ३७ वटा पुगेका छन् । वैशाखपछि प्रदेश १ मा ८, प्रदेश २ मा ३, वाग्मतीमा २, लुम्बिनीमा ५ र सुदूरपश्चिममा २७ बीओपी थपिएका छन् । वैशाखअघि सुदूरपश्चिममा बीओपी १० मात्रै थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *