नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगे

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै संख्या ६ सय ३६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा ५ महिला र १७ पुरुष रहेका छन् । प्राप्त विवरण अनुसार चितवनका पाँच जना, बुटवलका चार जना, सुनसरीका ३ जना, मोरङ र बाँकेका दुई जना, काठमाडौं, नुवाकोट, धनगढी, सिन्धुपाल्चोक, मकवानपुर र काभ्रेका एक एक जनाको ज्यान गएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष तथा सीटीइभिटिका पूर्व उपाध्यक्ष सरोज देवकोटाको वसुन्धरास्थित वीपी स्मृति अस्पतालमा कोरोना संक्रमणबाट निधन भएको छ ।

यसैगरी रुपन्देहीमा थप चार जनाको मृत्यु भएको छ । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा दुईजना, बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एक जना र दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा अर्की एक महिलाको मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी बुटवल ११ की ६१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यस्तै बुटवल–१ का ७० वर्षीय बृद्धको शनिवार १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिवार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बुटवल–११ का ८४ वर्षीय संक्रमित बृद्धको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिवार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिवारदुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला छन् । वृद्ध मुटु र फोक्सोका दीर्घरोगी थिए भने महिला सुगर रोगबाट पीडित थिइन् । यता, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय बृद्ध र कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी ७१ वर्षीया वृद्धाको उपचारका क्रममा शनिवारमृत्यु भएको छ । यता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनकुटाकी ६५ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो ।

यस्तै धरान उपमहानगरपालिका–८ की ६२ वर्षीय महिला र दुहबीका ६५ वर्षीय पुरुषको मृत्यु भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । यसैबीच चितवनको भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै, चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको बागमती वडा नं ६ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा सर्लाहीको हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी भरतपुर अस्पतालको कोभिड आइसीयुमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको शनिवार मृत्यु भएको हो । यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको शनिवार मृत्यु भएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *