कोरोना भाइरसको जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन

कोरोना भाइरसको जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक प्रमाणपत्रका मुद्दा हेर्ने क्षेत्राधिकार पाएको विशेष अदालतले एक साताका लागि साक्षीको बकपत्र गराउने सेवा स्थगन गरेको छ । विशेष अदालतले शुक्रबारदेखि लागू हुने गरी साक्षीको बकपत्र गराउने सेवा स्थगित गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अन्य नियमित सेवा यथावत् रहे पनि बकपत्रको सेवा स्थगन गरिएको बताउनुभयो । अदालतले शुक्रबारदेखि असोज ३० गतेसम्म बकपत्र नगर्ने पक्षहरूलाई सूचित गरेको छ ।

सर्वोच्च अदालतमा एक न्यायाधीश, केही इजलास अधिकृत र कर्मचारीमा सङ्क्रमण भएपछि आइतबारदेखि सेवा प्रवाह कटौती भएको हो । सर्वोच्चमा अहिले बन्दी प्रत्यक्षीकरण, केही निवेदन र प्रतिवेदनबाहेक अन्य सम्पूर्ण नियमित पेसी स्थगन गरिएको छ । सङ्क्रमितको निकट सम्पर्कमा रहनुभएका न्यायाधीशहरू आइसोलेसनमा बसेकाले अन्य इजलास बस्न सकेका छैन । यस्तै सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारीहरू पनि आइसोलेसनमा नै रहेका छन् । सर्वोच्च अदालतले दशैँसम्म नै नियमित मुद्दाको सुनुवाइ प्रभावित हुने यसअघि नै जनाइसकेको छ । अदालतमा अहिले दैनिक दुईदेखि तीन इजलास मात्र सञ्चालनमा छन् । अन्य प्रशासनिक कामकाज केही प्रभावित भएको छ ।

आइतबार भने सर्वोच्चमा एक मात्र एकल इजलास सञ्चालित थियो । त्यसयता बढीमा दुई न्यायाधीश रहने संयुक्त इजलास एक र एक एकल इजलास तोकिएका छन् । संयुक्त र एकल इजलासमा रहने न्यायाधीश भने एकै रहनुभएको छ । शुक्रबार भने फरक फरक न्यायाधीशका तीन इजलास सर्वोच्चमा गठन भएका थिए । यस्तै उच्च अदालत पाटनमा पनि न्यायाधीश र कर्मचारीलाई सङ्क्रमण देखिएपछि नियमित सुनुवाइ प्रभावित भएका छन् । सोमबारदेखि सेवा प्रभावित भए पनि अदालतमा शुक्रबारसम्म आधार क्षमतामा इजलास सञ्चालित छन् । दैनिक १३ वटासम्म इजलास गठन हुने उच्च अदालत पाटनमा शुक्रबार छवटा संयुक्त इजलास गठन भएका छन् । यसअघि न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि तीनवटा इजलास मात्र सञ्चालनमा आएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *