प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित २ जनालाई पक्राउ गर्यो

प्रहरीले बाँकेमा १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६.३० मिनेटमा कुसुम बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय वसन्त घर्तीमगर रहेका छन् । उनीहरुलाई जाँच गर्ने क्रममा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो । आजै जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको प्रहरी उपरीक्षक रानाको भनाइ छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *