भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो । गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् । बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ११ जनाले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् । शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् ।

‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटनापछि शोकाकुलको भीडमा कहालिँदै रोइरहेका बाह्रबिसे–७ घुम्थाङ भीरखर्कका ७० वर्षीय सूर्यबहादुर खड्काले भने । भूकम्प र अविरल वर्षाले थिलथिलो बनेर जोखिमपूर्ण बनेको भूभागको बासलाई गाउँलेले जोखिम अनुमान गरे पनि नछाड्नु र स्थानीय सरकारले पनि वास्ता नगर्दा जनधनको ठूलो क्षति भएको उनले बताए । ‘यस्तो भइहाल्ला भनेर कसैले सोचेको थिएन,’ उनले भने । घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भीरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लो गाउँभर झन्डै दुई सय परिवारको बसोबास थियो । भूकम्पपछि घुम्थाङ गाउँभर एकै नीलो रङका चिटिक्कका घरहरू बनेका थिए ।

बर्खाको सुरुमा नागपुजेमा थोरै पहिरो खस्ने जोखिम देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । ‘सामान्य भास्सिएको जमिनले हाहाकार मच्चियो । चिटिक्क बस्ती ध्वस्त बनायो, आफन्त छिमेकी सबै हराए,’ खड्काले भने । भीरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि एक साताअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न स्थानीय प्रशासन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । बाह्रबिसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, ‘तर प्राधिकरणले कुनै वास्ता गरेन । हामी अनुरोध गर्दागर्दै थाक्यौं, यस्तो भयावह घटना भयो ।’

बर्खाको पहिरोले थोरै समस्या देखिएकाले पल्लो मानेडाँडामा सर्ने तयारीसमेत भइरहेका बेला घटना भएको नागपुजेकी सुनकुमारी तामाङले बताइन् । ‘पहिरोमा सर्वस्व गुमाएँ । सबै आफन्त गुमे, यत्रो पहिरो आउला भन्नेजस्तो लागेकै थिएन,’ उनले भनिन् । पल्लोछेउदेखि वारि भीरखर्क क्षेत्रभरि नै पहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइँ सरिरहेको उनले बताइन् । ‘जनप्रतिनिधिले भूगर्भविद् ल्याएर किन अध्ययन गरेनन् ? बेलामै सतर्क बनाएको भए यत्रो मान्छेले ज्यान गुमाउँदैनथे,’ उनले भनिन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *