भर्चुअल तेक्वान्दोमा मूलपानी बन्यो च्याम्पियन !

मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्यपदक जित्दै मूलपानी च्याम्पियन बनेको हो । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितिामा एक स्वर्ण, दुई रजत र एक कास्यपदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कास्यपदक प्राप्त गरेको कैलाली तेस्रो भयो । प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस्तै स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एक÷एक स्वर्णपदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एशियाली खेलकूद (साग) का कास्यपदक विजेता अस्मिन राउतले स्वर्ण जित्नुभयो । उहाँले ६ दशमलव ५३ अङ्क प्राप्त गर्नुभयो । चितवनका अब्बास खानले ५ दशमलव ९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अङ्क प्राप्त गर्दै कास्यपदक पाउनुभयो । यस्तै यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । चितवनकी जैनब खातुनले ६ दशमलव २० अङ्कका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अङ्क ल्याई कास्यपदक प्राप्त गर्नुभयो ।

यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्णपदक जित्नुभयो । उहाँ १३औँ सागको कास्य पदकधारीसमेत हुनुहुन्छ । सागका कास्यपदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अङ्कका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अङ्क र दोलखाका नोर्बु मोक्तान ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य प्राप्त गर्नुभयो । यु–३१ महिला एकलतर्फ १३औँ सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । सेनाकी निताले ६ दशमलव ७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सञ्जिलाले ६ दशमलव ५६ अङ्कसाथ रजत प्राप्त गर्नुभयो । सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अङ्क र दाङकी सुनिता विष्ट ५ दशमलव ४३ अङ्क ल्याई कास्य पदक प्राप्त गर्नुभयो ।

यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसुदन सापकोटाले ५ दशमलव ९० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । कैलालीका आशिष चन्दले ५ दशमलव ६० अंक ल्याइ रजत तथा रुपन्देहीका विकास उदयले ५ दशमलव ४६ अङ्क र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अङ्क ल्याई कास्यपदक प्राप्त गर्नुभयो । आयोजक सङ्घका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *