सरकारले धान दिवस मनाईरहदा कृषकका समस्या भने ज्यूँकात्यूँ

सरकारले धान दिवस मनाईरहदा कृषकका समस्या भने ज्यूँकात्यूँ रहेको छ । माना खाएर मुरी उब्जाउने यो समयमा सरकारले उन्नत वीउ, बिषादी तथा मलखाँद उपलब्ध गराउन नसकेको भन्दै भोजपुरका कृषकहरुले गुनासो गरेका छन् । सरकारले यस वर्ष वीउ तथा मलको अभाव हुन नदिने बताएपनि भोजपुरका अधिकाशं कृषकहरुले अझै मल नपाएको गुनासो गरेका छन् । उन्नत किसिमका वीउ त परै जाओस् त्यहिमाथि समयमा मल नपाउदा उत्पादनमा भारी ह्रास आउने भएकाले कृषकहरु परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । षडानन्द नगरपालिका ५ चिउरेवोटेका ईन्द्रवहादुर परियारका अनुसार समयमा वीउ, बिषादी तथा मल नपाउदा उत्पादनमा ह्रास आउने वताउछन् । परीयार भन्छन् – ‘मकैमा त मल लगाउन पाईएन तर धान खेतिमा लगाउन त पाइन्छ भन्ने ठूलो आस थियो तर धान रोपाईको मध्ये विन्दुमासमेत मल नपाउदा परिवार कसरी चलाउने हो भन्ने बारेमा चिन्ता लाग्न थालेको छ ।’ जिल्लाका अधिकाशं स्थानमा मकै तथा धान रोप्ने समयमा मल नपाएपछि कृषकहरुको जनप्रतिनिधि प्रति नैरास्यता बढ्दै गएको छ । “मल नभएपछि धान फल्छ भन्ने आश पनि हरायो, मकै फौजि किराले सखाप पारी सक्यो”- परीयारले भने । स्थानीय तहहरुले मल उपलब्ध गराउने भनेपनि ठेकेदारको ढिलासुस्ति, कृषि सामाग्री कम्पनी र साल्ट टे«डिङले कोभिड १९ को कारण देखाउँदै मल नपठाएपछि ईन्द्रबहादुर सगै अन्य किसान मार्कामा परेका हुन् ।

जिल्लाभर नै यतिबेला रासायनिक मलको हाहाकार मच्चिएको छ । समयमै मल वितरण नहुँदा किसानहरु बढि मारमा परेका छन् । मल अभावकै कारण लक्ष्यअनुसारको उत्पादन नहुने भएपछि किसान निराश बनेका छन् । स्थानीय तहहरुले पनि टेन्डर र खरिद प्रक्रियामा ढिलाई हुनाले समयमै मल वितरण गर्न कठिनाई भएको स्विकार्दै आएका छन् । कम्पनीसंग बारम्बार मलको ताकेता गरेपनि मल नपठाएको बताउँदै आएको छ । टेन्डरमार्फत ठेकेदारहरु मल निकासी गर्ने जिम्मा पाएपनि मलको आधिकारीक विक्रेताले नै मल रोकिदिएको बताउँछन् । उपमेयर मेरिका राईका अनुसार षडानन्द नगरपालिकाले चालु आर्थिकवर्षका लागि ५९ टन मल माग गरेको छ । तर माग अनुसार मल नआउँदा किसानलाई मल वितरण गर्न कठिनाई भएको हो । मलको हाहाकार भैरहदा गत जेठ ७ गते पूर्वी अरुण गाउँपालिकाको जरायोटास्थित अनुदानका लागि आएको मल अनाधिकृत रुपमा बेचविखन भईरहेको पाइएपछि मलको स्टोरलाई जिल्ला प्रशासनले सिल ग¥यो । जरायोटार भोर्लाबोटका स्थानीय व्यापारी भद्रमान भुजेलले हाम्रो ट्रेड एण्ड सप्लायर्स तिवारीभञ्ज्याङका ठेकेदार कृष्ण कोईरालामार्फत अनुदानको एकसय बोरा मलमध्ये ५३ बोरा युरिया मल किसानलाई अनाधिकृत रुपमा प्रतिबोरा २ हजार रुपैयाँसम्म विक्रि गरेको पाईएको थियो जसका कारण पौवादुङमा गाउँपालिकाको अनुदानको मलसमेत रोकिएर कृषक थप चपेटामा परेका हुन् ।

पछिल्ला केहि वर्षयता मलमा कालोबजारी बढेको छ । बजारमा कृत्रिम अभाव सिर्जना गरेर किसानलाई तोकिएको भन्दा दोब्बर तेब्बर मुल्यमा मल विक्रि हुने गरेको छ । स्थानीय प्रशासन र अन्य सरोकारवालाको नियमनकारी भुमिका फितलो हुनाले पनि कालोबजारी मौलाएको स्थानीय अगुवा नविन प्रधान सुनाउँछन् । यसका कारण धानको पकेट क्षेत्रमै पनि मलको अभावले पर्याप्त रोपाइँ हुन सकेको छैन । मलको आशामा किसानहरु बसेका छन् । वर्षेनी धान उत्पादनमा ह्रास आउनाले खाद्यान्न संकट पनि बढेको छ । गत वर्ष कुल १४ हजार ६ सय १९ दशमलब ७६ हेक्टर क्षेत्रमा गरिएको धानखेतीमा कुल ३४ हजार ६ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाको कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कुल २० हजार एक सय तीन हेक्टरमा धान खेती गरिने भएपनि कुल ४ हजार सात सय २५ हेक्टर क्षेत्रफलको खेत बाँझै रहेको केन्द्रको तथ्याङ्क छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *