धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र पर्साको १७ औं राष्ट्रिय धान दिवस

धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित कृषि ज्ञान केन्द्र पर्साले १७ औं राष्ट्रिय धान दिवस मनाएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै थोरै व्यक्तिहरुको उपस्थितिमा कृषि समाग्री अनुसन्धान केन्द्र पर्साको हाताभित्र रहेको खेतमा धानको बेर्ना रोप्दै उक्त दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले हालसम्म पर्सा जिल्लामा ५० प्रतिशत भन्दा बढि धानको रोपाई भइसकेको बताउनुभयाे । मौसमको अनुकुलताको कारण यस वर्ष धानको वीउ चाँडै हुर्कनुको साथै खेतमा पानी प्रयाप्त भएको कारण राष्ट्रिय धान दिवसको दिनसम्म ५० प्रतिशत धानको रोपाई सम्पन्न भइसकेको बताउनुभयाे । पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०७६\७७ मा ४५ हजार हेक्टरमा धान खेती गरिएकोमा प्रतिहेक्टर ४.८ मेट्रिक टनको हिसाबले २ लाख १६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो भने आगामी आर्थिक वर्ष २०७७\७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान गरिएको छ । जसअनुसार प्रतिहेक्टर ५.५ मेट्रिक टनको हिसाबले २ लाख ५५ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साको तथ्याँकले देखाएको छ ।

नेपाल कृषि प्रधान देश भनिएतापनि माटोमा प्रांगरिक पदार्थ न्यून हुनु, गुणस्तर वीउ प्रतिस्थापन दर न्यून हुनु, सन्तुलन मलखादको प्रयोगमा कमि हुनु, मौसमी प्रतिकुलता, खडेरी, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी, जग्गा खण्डिकरण, आवाशीयकरण क्षेत्रमा विस्तार, आद्योगिक क्षेत्रमा रुपान्तरण जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुन पुगेको प्रमुख डा. यादवको भनाई छ । अर्कोतर्फ उचित किसानको पहिचान, अनुदानको मल पाउन समस्या, सिचाईको समस्या तथा जनशक्ति पलायन जस्ता विविध समस्याले गर्दा पर्सामा कृषि फस्टाउन सकेको छैन भने प्रदेश २ का ७० प्रतिशत भन्दा बढि नागरिक कृषिमा आत्मनिर्भर रहेतापनि कृषि क्षेत्रलाई प्रोत्साहनको निम्ति प्रदेश सरकारको लगानी खासै नदेखिएको उनको भनाई छ । सिँचाईको अवस्था हेर्ने हो भने हालसम्म कुनै वर्ष पनि यहाँका किसानहरु नहरको पानी चाहेको बेला प्रयोग गर्न सकेका छैनन् । सिचाईको लागि पानी चाहेको बेला नहर सुख्खा रहन्छ भने नचाहेको बेला नहरमा टन्नै पानी हुन्छ जसले गर्दा भएको खेतीलाई पनि असर पार्ने गरेको छ ।

भारतको त्रिवेणी भैसालोटन स्थित निर्माण गरिएको नारायणी नदीको व्यारेजबाट ९२ किलोमिटर भारतीय नहर हुँदै दोन शाखा नहरबाट पर्साको जानकीटोला, इनर्वा हुँदै पर्सा, बारा तथा रौतहट जिल्लामा रहेको ३८ हजार हेक्टर खेतमा सिचाईको लागि पानी आउने गरेको छ । सधैं भारतीय पक्षले छोड्दै आएको पानी यस वर्ष पनि अहिलेसम्म पानी छाडेको छैन । यस वर्ष मौसमको अनुकुलताको कारण समयमा वर्षा भएपछि किसानहरु धान रोप्न पाएका छन् । नत्र त्यही गत वर्षझै पम्पिङ्ग सेटकको साहारामा खेत रोप्नु नत्र नहरको पानीको मुख ताक्नुको विकल्प थिएन । खास गरेर पर्साबासीहरु नहरको पानीमा निर्भर रहेको कारण प्रत्येक वर्ष समयमा पानी नआउँदा पर्साका किसानहरु मर्कामा पर्ने गरेका छन् । नेपाल-भारत सीमाक्षेत्र जानकीटोलादेखि रौतहटसम्म १ देखि १५ नम्बरसम्म ब्लक छुट्याई नहरमा पानी छाड्ने गरिएको छ । बारा, पर्सामा १ देखि १० नम्बर ब्लकसम्म नहर रहेको छ भने ११ देखि १५ ब्लक नम्बरको नहर रौतहट जिल्लामा पर्ने गरेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *