कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ने अपेक्षा

धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ । कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ । यस वर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ । नेपालमा प्रत्येक वर्ष असार १५ गते धान राेपाइँलाइ केन्द्रित गरी राष्ट्रिय धान दिवस मनाइँदै आएको छ । यस वर्ष पनि देशैभरि ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ धान दिवस मनाइँदै छ । १७औँ धान दिवसको अवसरमा प्रदेश २ का मन्त्रीहरुदेखि विभिन्न पालिकाका प्रमुखहरु खेत खेतमै पुगेर धान रोपेर धान रोपाईको शुभारम्भ गरे । देशको कुल ग्राहस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । देशैभरि धान उत्पादन भए पनि सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा हुुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन मात्रै प्रदेश- २ मा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ । पछिल्लो वर्ष प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पादन भएको थियो ।

देशभरि राष्ट्रिय धान दिवस मनाइरहँदा प्रदेश दुईमा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाइँ भएको प्रदेश- २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश- २ मा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेतीयोग्य जग्गा रहेको मध्ये अहिलेसम्म प्रदेश- २ मा ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाइँ भएको प्रदेश दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकार अविनाश झालले जानकारी दिए । मन्त्रालयका अनुसार प्रदेश दुईमा अहिलेसम्म पर्सा जिल्लामा धान रोपाइँ भएको छ । कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको छ । यो कुल खेती योग्य जग्गाको २९.६ प्रतिशत रहेको छ । त्यस्तै सप्तरी जिल्लामा १३.४ प्रतिशत धान रोपाइँ भएको छ । सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर जग्गामध्ये ७ हजार हेक्टरमा धान रोपाइँ भएको सूचना अधिकारी झाले बताए ।

सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेतीयोग्य जग्गामामध्ये ५ हजार अर्थात् ८.५ प्रतिशत, धनुषामा कुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात् ८.५ प्रतिशत, महोत्तरीमा कुल ४० हजार १ सय २४ हेक्टर जग्गामध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात् १४ प्रतिशत धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । सर्लाही जिल्लामा कुल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गामध्ये ७ हजार ७ सय अर्थात् १९.५ प्रतिशत र बारा जिल्लामा कुल ६१ हजार २ सय ४७ हेक्टर जग्गामध्ये ११ हजार २ सय अर्थात् १८.३ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

किसानलाई मलको चिन्ता – यस वर्ष समयमै पानी परेकोले किसानहरू हर्षित छन् । धान उत्पादन राम्रो हुनेमा आशावादी समेत छन् । मौसमले यस वर्ष साथ दिए पनि किसानहरु मलको अभावमा मर्कामा परेका छन् । प्रदेश दुईमा सिंचाइँको अभाव रहेको समयमा जसोतसो धान रोपाइँ गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ । धनुषाकाे नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीका चन्दर महराले जसोतसो धान रोपे तर खेतीका लागि आवश्यक मलको चिन्ताले समेत पिरोलिरहेको छ । ‘मलका लागि बारम्बार कृषि सामग्री कम्पनी लिमिटेड धनुषामा प्रत्येक वर्ष धाउने गरेका छौँ,’ महराले भने, ‘तर मल नपाएर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यसपटक पनि त्यसो नहोला भन्न सकिन्न ।’ खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्छ तर प्रत्येक वर्ष ‘डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किनु परेको’ किसान उपेन्द्र साहले सुनाए ।

अहिले बजारमा पनि मल नरहेको उनको गुनासो छ । मौसमले साथ दिए पनि समयमा मल हाल्न नपाए यस वर्ष पनि उत्पादन घट्न सक्ने चिन्ता उनको छ । गत वर्ष पनि धानको सिजनमा डीएपी मल नपाएका किसानहरूले यस वर्ष पनि आवश्यक परेको बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने दोधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । यहाँ मल नपाएमा कहाँबाट ल्याउने ? किसान चन्दर महराको प्रश्न छ । उनी भन्छन्, ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुनुपर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नुपर्ने समस्या देखिएको छ ।’ मल-खादको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहे पनि किसानहरु सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *