लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिए

असारदेखि नै लगातार पर्दै आएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरोलो बढेको हो । असारदेखि लगातार जसो पानी परिरहेकाले लहरे तरकारी बालि र अन्य तरकारी बालीका बोट सुक्दै गएका छन् । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि किसानले तरकारी बालीबाट नगद आम्दानीको आस मरेका छन् । खासगरि चाहेको बेला सिञ्चित गर्न सकिने, पानी नजम्ने रुखो जग्गामा लगाइने तरकारी बाली लगातार पानी परिरहेर गोडमेल र उपचार नपाउँदा पहेलिएको किसानको भनाइ छ ।

“लगातार पानी परिरहेको छ, गोड्न पाइएन” जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भने, “गोडमेल नपाएपछि बारीभरि झार बढेर किराको प्रकोप बढ्दा बालीबाटै हात धुने स्थिति आयो ।” लगातारको वर्षाले करेला, फर्सी, घिरौला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला (लहरा) सुकेका छन् । खासमा असारअन्तिम साताको ६ दिन, साउन पहिलो साताको तीन दिन र भर्खरै गत बुधबार र बिहीबार परेको मुसलधारे वर्षाले हिँउदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहित तरकारी बाली सकेको आम किसानको गुनासो छ ।

महोत्तरीका बर्दिवास नगरपालिकाको माइस्थान, भब्सी, चेरु, टुटेश्वर र बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेटक्षेत्र मानिन्छन् । यी बस्तीमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गलेर लहरा पहेलिएका, चिचिला र फल पनि कलिलैमा चाउरिएको र चुँडिएर झरेका माइस्थानका परबल किसान सोमबहादुर कार्कीले बताए । कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्कनु भएका बर्दिवास–५ चेरुका बासिन्दा पूर्वसहसचिव वाणिकराज काफ्ले पनि लगातारको वर्षाले परबल गलाएको बताउँछन् । “भिरालो पाखो जग्गाको परबल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि ! तर, गह्रामा लगाइएको परबलको भने अब आस म¥यो” काफ्लेले भने, “म आफैँ विज्ञ हुँ, गोडमेल र उपचारको कुरामा जानकार छु तर, प्रकृतिका अघि बस् चल्दो रहेनछ , परबल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसी सक्नु छैन, के को गोडमेल ? के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवनगुजाराको पेशा बनाएका हुन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलोनहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको मुसलधारे वर्षा नै पिरोलो बनेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *