बन्दाबन्दीको प्रत्यक्ष मारमा जल यातायात

पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैङ्कको ऋणको सावाँ ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् । दुई वर्षदेखि नारायणी नदीमा मोटरबोट सञ्चालन गरिरहेको संस्था एमटीएस मोटरबोट प्रालिका सञ्चालक सोम आले मोटरबोट सञ्चालन गर्न नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गर्नुहुन्छ । “बन्दाबन्दीले परिवार नै कसरी पाल्ने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाहरूले यही बेला किस्ताको सावाँ ब्याज तिर्न भनेर दबाब दिइरहेका छन् । ” प्रालिको तीनवटा मोटरबोट नारायणी नदीमा सञ्चालनमा छन् । आलेले आफ्नो प्रालिअन्तर्गत बैङ्कमा १२ लाख रुपियाँ ऋण भएको बताउनुहुन्छ । मोटरबोट चलेको भए एउटै मोटरबोटबाट दैनिक छ÷सात हजार कमाउन गाह्रो थिएन । अहिले हाम्रो तीन÷तीनवटा मोटरबोट ठप्पै भएर बसेका छन्, उहाँको गुनासो थियो । आफ्नो १५ जना परिवार यसैको आम्दानीमा आश्रित रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै अर्का मोटरबोट सञ्चालक मदन कर्माचार्य पनि मोटरबोट नचल्दा चुलो नबल्ने अवस्था भएको गुनासो गर्नुहुन्छ । हिउँदको सिजन मोटरबोट चल्ने राम्रो सिजन हो तर चैतदेखि जेठसम्म नै मोटरबोट बन्द गर्नुपर्ने अवस्था आयो, उहाँले थप्नुभयो, “असारदेखि असोजसम्म नारायणी बढ्ने हुँदा मोटरबोट चलाउन सकिने अवस्था नै रहँदैन । ” वर्षा उनीहरूका लागि अफसिजन हो । कोरोनाले त गर्नुग¥यो, कसरी परिवार पाल्ने हो भन्ने चिन्ता भयो, उहाँको भनाइ छ । कर्माचार्यको सात जनाको परिवार छ । नारायणी नदीमा अहिले १३ वटा मोटरबोट सञ्चालनमा छन् । साढे १२ लाख रुपियाँदेखि एक करोड २५ लाख रुपियाँसम्म लगानी गरेका मोटरबोट अहिले कोरोनाको कहरले सञ्चालनमा आउन सकेका छैनन् । एउटा मोटरबोटको कमाइ औसत दैनिक पाँच हजार रुपियाँ मान्ने हो भने पनि अहिले नारायणीमा रहेका १३ वटा मोटरबोटले दैनिक ६५ हजार रुपियाँ घाटा खाइरहेका छन् । जुन रकम महिनामा झन्डै २० लाख रुपियाँ हुन्छ ।

यस्तै नारायणी नदीमा नै क्रुज (सानो पानीजहाज) सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीको प्रभावले सञ्चालनमा ढिलाइ भएको छ । नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज चलाउने तयारी भइरहेका बेला बन्दाबन्दी भएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुज सञ्चालनका लागि निर्माणको काम सकेर बसेको छ । यस्तै रङ्गमहल रिभर ल्यान्ड प्रालिले नारायणीमा नै टेस्ट ड्राइभ गरेको मिनी क्रुज पनि व्यावसायिक रूपमा सञ्चालनमा आउन नपाउँदै बन्दाबन्दीको मारमा परेको छ । यसले मिनी क्रुजसँगै प्रालिले दुईवटा जेटस्किम, दुईवटा रिभरबोट र एक बनानाबोट पनि सञ्चालनमा ल्याएको थियो । यसका लागि प्रालिले झन्डै साढे तीन करोड रुपियाँ लगानी गरेको बताइन्छ । यस्तै बाग्मती प्रदेश सरकारको सहयोगमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले नारायणीमा क्रुज सञ्चालनका लागि २५ करोड रुपियाँ खर्च गरिसकेको जनाइएको छ । यो क्रुज साढे दुई तलामा २०० सिट रहेको छ । यो खबर आजको गोरखापत्रमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *