सरकारले ‘कोरोना कोष’ बाट ७ प्रदेश र सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा

सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बिहीबार रकम निकासा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो ।

प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो । सरकारले कोरोना कोषबाट सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । सैनिक अस्पताललाई आईसीयू कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधिलगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम दिइएको हो । सातै प्रदेशका ८४ पालिकालाई क्वारेन्टाइनको मर्मतसम्भार, खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *