पोखराको प्राय घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ !

पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उहाँका श्रीमान् लालबहादुर पौडेल यतिबेला गमले स्याउको उत्पादमा व्यस्त हुनुहुन्छ । पेशाले सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक अधिकारी कृषिकर्ममा पनि उत्तिकै चासो राख्नुहुन्छ । बन्दाबन्दीको समयमा उहाँको करेसाबारी होस् या कौसी होस् पेपिनो मेलन र अन्य तरकारी फलाएर आफ्नो कृषिकर्मलाई उजागार गर्नुभएको छ । उहाँसँगै नयाँ फल गमले स्याउको उत्पादनमा श्रीमान् लालबहादुर पौडेल पनि सक्रिय हुनुहुन्छ ।

राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील पौडेलले काठमाडौँ भाटभटेनीमा यो फल पहिलोचोटी देखेको बताउनुभयो । “निकै महँगो हुँदो रहेछ त्यतिबेला भाटभटेनीमा रु एक हजार २०० मा बिक्री हुने रहेछ । बहुउपयोगी गुण भएको यस फलका बारेमा बुझ्दै जाँदा निकै राम्रो लाग्यो र बेर्ना खोजेर यस फलको उत्पादनमा हामी लाग्यौँ ।” शुरुमा आफ्नै लागि मात्रै लगाए पनि पछिल्लो समय यसको व्यावसायिक उत्पादनमा जोड दिन थालेको उहाँको भनाइ छ । अधिकारीले अधिवक्ता महेन्द्रमान व्यथितबाट पेपिनो मेलनको बहुउपयोगी गुणका बारेमा जानकारी पाएपछि यस फलको बिरुवा खोजीमा लागेको बताउनुभयो । “हामी दुवैले यसका बारेमा बुझ्यौँ र काठमाडौँबाट एउटा बेर्नाको रु ५०० का दरले १५ वटा बेर्ना किनेर ल्यायौँ, तर शुरुका बेर्ना अत्यधिक पिना र हड्डीको धुलोले गर्दा मर्न थालेपछि ल्याएका नयाँ २५ बेर्ना भने जोगाउन सफल भयौँ ।” अधिकारीका अनुसार यस फलको दाना प्रशस्त पाकेपछि रातो हुन्छ र खाँदा गुलियो हुन्छ ।

जुस, जाम र वाइनका रुपमा पनि यसलाई खान सकिन्छ भने काँचोमा यसलाई तरकारीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । एक वर्षीय सदावहार बिरुवा भए पनि नमर्ने भएकाले फल लागेका पुरानो हाँगा काटेर फेरि पनि हाँगा पलाउने र फल्ने हुँदा यसलाई बहुवर्षीय बिरुवा मानिन्छ । इजरायली चिनी रोग एशोसिएसनका अनुसार यस फलमा चिनीको मात्रा एकदम न्यून हुने भएकाले सुगरका (चिनीरोग) बिरामीलाई पनि उपयोगी मानिन्छ । उहाँले करेसाबारीमा फलेको भन्दा कौसीको गमलामा फलेको फल बढी स्वादिष्ट हुने गरेको सुनाउनुभयो । एउटा गमलामा चार पाँच किलोसम्म फल लाग्ने गरेको छ । उहाँले सामाजिक सञ्जालमा पेपिनो मेलनको बारेमा राख्न थालेपछि धेरैले चासो दिन थालेका छन् । कति घरमै आएर फल चाख्ने र बेर्ना लिएर जाने गरेका छन् । अहिले १५० किलोसम्म फल फलेको छ । यो फल अहिले ३०० देखि ५०० किलोसम्म बिक्री वितरण हुँदै आएको अधिकारीले बताउनुभयो । अहिले अधिकारी दम्पतीको रहर व्यावसायिकतातर्फ मोडिँदै गएको छ ।

फल बहुउपयोगी भएको थाहा पाएपछि आफन्त इष्टमित्र, साथीभाइलाई यो फल चखाउने र जानकारी दिन सक्रिय दम्पतीले करिब ५०० बेर्ना बेचिसक्नुभएको छ । “शुरुमा हामीले फलबारेमा जानकारी दिँदै स्वाद चाख्न दिन्छौँ, बेर्ना लिन चाहानेलाई एउटा बेर्नाको ३०० मा बिक्री गर्छौं”, शुरुमा ५०० मा बेर्ना बेच्ने गरेको र पछिल्लो समय ३०० मा बेच्न थालेको पौडेलले बताउनुभयो । आवश्यक परे घरमै गएर पनि गमलामा बेर्ना रोप्न र स्याहार गर्न सिकाउने गरेको उहाँको भनाइ छ । यस फललाई नेपालमा भित्र्याएर व्यावसायिकखेती प्रवद्र्धनमा पाथिभरा आयुर्वेदिक अस्पतालका अध्यक्ष बिपी तिमिल्सिनाको योगदान रहेको छ । दशक अगाडि क्यानडाबाट आएका एक विदेशी साथीले बारबरा एडम्सको एक कार्यक्रममा त्यो फल चखाएका थिए । असाध्यै स्वादिलो र बहुउपयोगी भनेर भने पनि ती साथीले त्यो फलका बारेमा थप जानकारी दिएनन् । तिमिल्सिनालाई फलका बारेमा जान्न र त्यसको उत्पादनमा रुचि लाग्यो ।

दक्षिण अफ्रिकाको सिसेन घुम्न गएका एक गुरुङ थरका साथीलाई त्यसबारेमा सोधेर बेर्ना मगाउनुभयो । बडो जतनका साथ साथीले त्यस फलको बेर्ना ल्याइदिएपछि तिमिल्सिनामा उत्साह थपियो । अन्ततः उहाँले बेर्ना जोगाएर कलमी गरेर थुप्रै बिरुवा बनाएर यसको प्रवद्र्धन गर्न सफल हुनुभयो । अहिले देशका विभिन्न जिल्लामा यो फल पुगेको छ । तिमिल्सिनाका अनुसार यो दक्षिण अमेरिकाबाट संसारभर फैलिएको फल हो । पेरु, न्यूजिल्याण्ड, अष्ट्रेलिया, जापानलगायतका देशका व्यावसायिकखेती हुने गरेको यस फल महँगो फलअन्तर्गत पर्छ । यसको बोट ९० देखि १५० सेमीसम्म उचाइको हुने गर्छ । अध्यधिक चिसो नहुने सुक्खा ठाउँमा पनि यसको राम्रो उत्पादन हुने गर्छ । भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ तत्व हुने भएकाले यसले उच्चरक्ताचाप घटाउन, ग्याष्ट्रिक र अल्सरजस्ता रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछ । मानव स्वास्थ्यका निम्ति प्रकृतिको वरदान मानिने यस फल इन्सुलिन नलिएका मधुमेहका बिरामीका लागिसमेत लाभदायक हुने उहाँको भनाइ छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *