बन्दाबन्दिमा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव

महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव दिन्छन् । त्यसो त ध्यान र योग अन्य बेला पनि आवश्यक छ र यसलाई दिनचर्या नै बनाउनुपर्छ भन्ने कुरा हजारौँ वर्षदेखि भनिँदैआएको हो । ओशो ध्यान, चिन्मय ध्यान, भावातीत ध्यान जस्तै विपश्यना ध्यान मनलाई काबुमा ल्याउने अस्त्र हो । तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकाग्र बनाई जीवन जिउने कला सिकाउने माध्यम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउनुहुन्छ । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक भएको उहाँहरुको अनुभव र सल्लाह दुवै छ । कोरोना र बन्दाबन्दी जित्ने एक माध्यम आफैँले आफैँले चिन्ने विपश्यना हुन सक्ने उहाँहरुको सुझाव छ । बन्दाबन्दीमा विपश्यना ध्यान उपयुक्त समय भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर बताउनुहुन्छ । “यस्तो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त र मनलाई शान्त गर्न सकिन्छ”, भिक्षु मैत्री भन्नुहुन्छ, “ध्यानले मानिसको चित्तलाई दमन गर्छ, मनलाई एकाग्र बनाउँछ ।”

सांसरिक जीवनमा हुने राग, द्वेष र मोहबाट मुक्त गराउने साधन एवं माध्यम पनि विपश्यना भएकाले अहिलेको समयमा संसारभर यसको प्रयोग पनि बढ्दो रहेको छ । आर्य–मौनको माध्यमबाट शिरदेखि पाउसम्म आफूले आफैँलाई पढ्ने र पाउदेखि शिरसम्म अध्ययन निरीक्षण गर्ने हुनाले पनि मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो । आध्यात्मिक सुखशान्तिका लागि गरिने साधनाले चित्त निर्मल र शुद्ध हुने विपश्यना कर्म गर्नेहरु बताउँछन् । चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ । आफूले आफैँलाई चिन्न सिकाउँछ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयमा प्राध्यापनरत सुमन्तराज न्यौपाने बन्दाबन्दीमा घरभित्र रहेका मानिसले दैनिक रुपमा आनापाना माध्यमबाट विपश्यना गरे मन निर्मल हुने बताउनुहुन्छ । न्यौपाने भन्नुहुन्छ, “विपश्यनाले आफूलाई चिन्ने, आफूलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्छ । पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि बाह्य संसारलाई शून्यतामा बुझ्ने नै विपश्यनाको काम हो ।”

हामीले खोज्ने भौतिक सुखले बाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन । भौतिक सुखले एकछिन आनन्द दिए पनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराउँछ । वास्तविक सुख त मानिसको मनभित्र नै हुन्छ । आफूले आफैँलाई चिन्न सके मात्र हामी वास्तविक सुखको अनुभूति गर्न सक्छौँ । यो विपश्यनावाट मात्र सम्भव भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विपश्यना कक्षको ठहर छ । विपश्यना शरीरभित्र भएको विकार हटाउने तथा सुख र शान्तिले जिउने कला पनि हो । सिद्धार्थ गौतमले करीब दुई हजार छ सय वर्ष पहिला खोज गरेको विपश्यना अहिले सबै धर्म, समुदायकोे साझा भएको छ । प्राणी हिंसा नगर्ने, झूटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने भन्ने पञ्चशील पूर्णरुपमा पालना गर्नाले समाधि (साधन) प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छः दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ, दुःख निवारण हुन्छ । आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउनुहुन्छ ।

विपश्यना आत्मशुद्धिको साधना–विधि हो । यसबाट शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ । यो अन्तरदृष्टिले आफँैलाई खोज्ने कला हो । विपश्यना शिविरमा बन्दाबन्दीका समयमा साधन गर्न असम्भव जस्तै भएकाले यसको प्रयोग घरमा गर्न सकिन्छ । विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधि हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरीरका लागि), वेदनानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरमा विपश्यना गुरुको मार्गनिर्देशनमा विशेष प्रकारले गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बसी आनापाना (सास लिने र फाल्ने ) विधिले गर्न सकिन्छ । साथै शरीरलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म आफैँ हेर्ने गर्नुपर्छ । यसले मन शान्त पार्छ ।

बौद्ध भिक्षु छेवाङ बन्दाबन्दीमा आत्मा र शरीरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक भएको ठान्नुहुन्छ । चञ्चले मनलाई योग र साधनाले मात्र बाँध्न सक्ने भएकाले घरभित्र शान्त भएर साधना गरे अहिलेको संकट टार्न सहज हुने भिक्षु छेवाङको भनाइ छ । बन्दाबन्दीमा साधना गर्दा सादा खाना खानुपर्ने, शिललाई मान्नु पर्ने, चित्तलाई बाँध्नुपर्ने र विपश्यनाका आधुनिक गुरु सत्यनारायण गोयंकाका प्रवचन सुन्नुपर्ने धम्मजननी विपश्यना केन्द्र लुम्बिनीका प्रमुख राम कोइराला बताउनुहुन्छ । सबै मानिस शान्ति र आनन्दको खोजमा दौडिरहेका हुन्छन् । त्यसलाई पाउन बुद्ध वचनको पालन गर्नुपर्छ । मन, वचन र शरीरले गर्ने १० अकुशल कार्य नगरे मानिसमा शान्ति र आनन्द आउने बुद्ध वचनले प्रमाणित गरेको छ । मनबाट हुने तीन अकुशल कार्य लोभ, प्रतिहिंसा र असत्य ज्ञान हुन् । वचनबाट हुने अकुशल कार्य झूटो वचन, चुक्ली, कटुवचन र व्यर्थ वचन हुन् । शरीरबाट हुने अकुशल कार्य हत्या, चोरी, व्यभिचार हुन् । “साधना गर्दा यी काम नगर्ने प्रतिज्ञा गरेमा मानिसमा स्वतः शान्ति र आनन्द प्राप्त हुन्छ”, विपश्यना गुरु कोइराला भन्नुहुन्छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *