पाकेको घाँस पानीले खेतमै कुहिने भयो, लकडाउनले गर्दा समयमा श्रमिक नपाएर काट्न पनि सकिएन

दाङ जिल्ला, घोराही उपमहानगरपालिका–६ का सन्ते चौधरी फागुनदेखि लगातार परेको वर्षाले घाँस स्याहार्न नपाउँदा चिन्तित देखिनुहुन्छ । उहाँले बीउ उत्पादनका लागि एक बिघा जमीनमा बर्षिम जातको घाँसको खेती गर्नुभएको छ । “खेतमा घाँस पाकेर काट्नको लागि तयार छ । पाकेको घाँस पानीले खेतमै कुहिने भयो, लकडाउनले गर्दा समयमा श्रमिक नपाएर काट्न पनि सकिएन”, चौधरीले भन्नुभयो । घोराही ६ का किसानले घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । नगदेबाली मसुरोखेतीभन्दा बर्षिम घाँस खेतीबाट आम्दानी धेरै हुने भएपछि धेरै किसान यसतर्फ आकर्षित भएका हुन् । “गत वर्ष पचास हजारको घाँस बिक्री गरेको हुँ, यस वर्ष पानीले स्याहार्न नै नपाइने भयो”, चौधरीले भन्नुभयो । मसुरो, गहुँभन्दा राम्रो आम्दानी हुने भएकाले धेरैले घाँस खेती गरेको अर्का किसान नमराज अधिकारीले बताउनुभयो । “गत वर्ष घाँसको बीउ उत्पादन राम्रो भएको थियो, मैले ८४ हजारको घाँस बीउ बिक्री गरेको थिएँ”, अधिकारीले भन्नुभयो ।

घाँसको पकेट क्षेत्र घोराही ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँमा किसानले बर्षिम घाँसखेती गर्दै आएका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक संघका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । हरियो र सुकेको बर्षिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही ६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघामा घाँस खेती गरेका छन् । उक्त वडामा एक सय हेक्टर जमीनमा बर्षिम घाँसको खेती गरिएको अधिकारी बताउनुहुन्छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा पाकेर काट्न ठीक्क परेको घाँस बेमौसमी वर्षाले कुहाउन थालेपछि सम्पूर्ण किसानको मनै खिन्न भएको छ । पानीका कारण कतिपय किसानले घाँस काट्नसम्म पाएका छैनन् । काटेको पनि स्याहार गर्न नपाउँदा खेतमै कुहिने र झर्ने अवस्था छ । घाँसका लागि लगानी कम गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसानब बढ्दै गएका छन् ।

दाङकै दंगिशरण गाउँपालिका ३ हेकुलीमा पनि बर्षिमको बीउ उत्पादन हुने गरेको छ । त्यहाँका किसानले पानकिा कारण यस वर्षको घाँस स्याहार्न नपाउँदा कुहिने अवस्थामा पुगेको छ । हेकुलीका किसान रामवीर चौधरीले दुई बिघा जग्गामा लगाएको घाँस अहिले कुहिने अवस्थामा पुगेको छ । “मसुरो, गहुँभन्दा राम्रो आम्दानी हुने भएकोले धेरै घाँस खेती गरेको थिएँ तर पानीले स्याहार्न पाएको छैन”, चौधरीले भन्नुभयो । गत वर्ष घाँसको बीउ उत्पादन राम्रो भएकाले अहिले धेरै खेतमा लगाएको घाँस खेर जाने अवस्था आएको उहाँले बताउनुभयो । “गत वर्ष मैले एक लाख रुपियाँको घाँस बीउ बिक्री गरेको थिएँ”, चौधरीले भन्नुभयो । उक्त ठाउँका किसानले उत्पादन गरेको बीउ जिल्लाका पशुसेवा शाखाले खरीद गरेर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्दै आएका छन् । दंगिशरणका ५० कृषकले उक्त घाँसको बीउ उत्पादन गर्दै आइरहेको पशुसेवा शाखाका अधिकृत एकराज सुवेदीले जानकारी दिनुभयो । पालिकामै खपत नभएमा तुलसीपुरका एग्रोभेटमा सम्पर्क मिलाइदिने कामसमेत शाखाले गर्दै आईरहेको छ ।

शिवशक्ति घाँसको बीउ उत्पादक संघले किसानको घाँस जम्मा गरेर बिक्री गर्दै आएको छ । व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला भएको संघको जिकिर छ । जिल्लाका अन्य क्षेत्रमा घाँसखेती गरिए पनि बीउ उत्पादन भने नहुने गरेको पशु ज्ञानकेन्द्र दाङले जनाएको छ । घोराही ६ का किसानले २०५६ सालदेखि घाँस खेती शुरु गरेका हुन् । यसपालि घाँसको बीउको २५ देखि ५० प्रतिशतसम्म उत्पादन घट्ने संघका सचिव अधिकारीको भनाइ छ । घाँसको पकेट क्षेत्रका रुपमा विकसित हँुदै आएको सो क्षेत्रका सम्पूर्ण किसानलाई पानीका कारण चिन्तित हुनुपरेको छ । अन्य जिल्लामा यसको बीउ उत्पादन नहुने भएकाले दाङबाट अन्य जिल्लामा मागअनुसार बीउ पु¥याउने गरेको सचिव अधिकारी बताउँछन् । बीउ उत्पादनका लागि दाङको वातावरण उपयुक्त भएकाले अन्य जिल्लामा बीउको उत्पादन नभएको उहाँको जिकिर छ । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् भने बीउ उत्पादक संघले सरकारले निर्धारण गरेको रु २५० अनुसार नै बिक्री गर्ने गरेको छ । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *