आन्तरिक हवाई भाडा ३६ प्रतिशतसम्म छुट हुने !

कोरोना भाइरसको सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा पनि अत्यधिक भाडा लिएको भन्दै गुनासो बढेपछि आन्तरिक वायुसेवाले भाडादरमा छुट दिने घोषणा गरेका छन् । सरकारले तोकेको अधिकतम सिलिङभित्रै भाडा लिँदै आए पनि अनर्गल प्रचार भएपछि भाडा दरमा छुट दिने निर्णय गरेको आन्तरिक वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रङ्क रुटमा यस्तो निर्णय गरिएको प्रस्ट पारेको छ । सङ्घका अनुसार सरकारले तोकेको भाडा दरमा २० देखि ३६ प्रतिशतसम्म छुट यात्रुले पाउनेछन् । सङ्घका अनुसार यति एयरलाइन्स र बुद्ध एयरलाइन्सले तत्कालका लागि ट्रङ्क रुटमा यस्तो छुट उपलब्ध गराउने छन् । यद्यपि यस्तो भाडा दर सिमरा, भरतपुर र जनकपुरमा लागू हुने छैन ।

यात्रुले यस्तो सुविधा सोमबारदेखि चैत २१ गतेसम्म प्राप्त गर्न सक्नेछन् । सङ्घले हवाई भाडा दरमा ४० प्रतिशत हिस्सा इन्धनको भए पनि नेपाल आयल निगमले विश्वव्यापी रूपमै हवाई इन्धनको मूल्य घटे पनि त्यस अनुसार नघटाएको आरोप लगाएको छ । निगमले न्यूनतम मुनाफा राखी हवाई इन्धन बिक्री गरे भाडा दर स्वतः घट्ने सङ्घले जनाएको छ । यसअघि भाडा दर अत्यधिक लिएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वायुसेवा सञ्चालकसँग शनिबार छलफल गरी भाडा दर घटाउन आग्रह गर्नुभएको थियो । वायुसेवा सञ्चालकले भाडा दर पुनर्विचार गर्न सकारात्मक प्रतिबद्धता जनाएका थिए । यो खबर आजको गोर्खापत्रमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *