सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने !

सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो। ‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्काे देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले भने। यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उनले बताए।

नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। बैठकले प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने एक मन्त्रीले बताए। कोषमा सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *