कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केकाको अभिलेख राख्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ । मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ । यसैगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, जिम केन्द्र, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल र डान्सबारजस्ता भीडभाड हुने स्थान चैत मसान्तसम्म बन्द गराउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *