मलेसिया सरकारले २ साताका लागि मलेसिया प्रवेश रोक लगयो

मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिकोे प्रमुख श्रम गन्तव्य मुलुक मानिन्छ । कतारले पनि विदेशी नागरिकलाई प्रवेश नगराउने भनेर यसअघि नै सूचना गरिसकेको छ । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेको राजदूतावासले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । मलेसियन नागरिकलाई भने विदेश जानसमेत रोक लगाइएको छ ।

दूतावासले विज्ञप्तिमार्फत मलेसिया सरकारले जमघट, भेलालगायतका अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लाएकाले मलेसिया रहेका नेपालीलाई जमघट नगर्न आग्रह गरेको छ । दुई हप्तासम्म मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी निकायबाहेक अन्य सबै सरकारी वा विद्यालय, विश्वविद्यालय बन्द हुनेछन् । दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरीलगायतका महìवपूर्ण सेवा दिने निकाय भने खुला नै रहने छन् । मलेसियामा अहिलेसम्म ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५२४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ । मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन ।

कोरोनाको सङ्क्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकमा पनि त्रास बढ्दै गएको छ । क्याम्पमा निगरानी बढाएको र कतिपय श्रमिकलाई डिपोर्ट गरिएको छ । कतारमा कार्यरत केही श्रमिकलाई डिपोर्ट गरिएको सम्बन्धमा नेपालबाट परराष्ट्र र कन्सुलर सेवाबाट चिठ्ठी आएको तर त्यस सम्बन्धमा दूतावासले जानकारी लिइरहेकाले अहिले नै कति श्रमिक डिपोर्ट भए र किन गरियो भनेर भन्न सकिने अवस्था नरहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर त्यहाँ कार्यरत श्रमिकलाई कोरोनाको त्राससँगै समस्या पनि बढ्दै गएको छ । ‘दूतावासले विज्ञप्तिमार्फत आफ्ना देशका नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र कोठाभित्रै बस्न आग्रह गर्दै आएको छ । कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने त्यहाँ कार्यरत केही श्रमिकलाई डिपोर्ट गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सार्वजनिक बसदेखि होटल, रेस्टुरेन्टहरू बन्द छन् । यस्तो अवस्थामा भीडभाडमा जाँदा प्रहरीले पक्राउ गर्नसक्ने सम्भावना भएकाले भीडभाडमा नजान र सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । कतारमा अहिलेसम्म ४३९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये चार जना उपचारपछि निको भएका छन् भने ४३५ जनाले उपचार गराइरहेका छन् । यो समाचार आजको गोर्खापत्रमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *