ओहो ! यो होनी तरिका, स्ट्रबेरी खेती हेर्न पर्यटकको लर्को

पहिलो पटकको परीक्षण सफल भएपछि नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । झापाको बाह्रदशी गाउँपालिका–१, जनता बजार पश्चिम घाग्रा खोला किनारमा सुरु गरिएको स्ट्रबेरी खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले यहाँ ३५ बिगा क्षेत्रफलमा स्ट्रबेरी खेती गरेको छ । पहिलो परीक्षण सफल भएपछि यो वर्ष ठूलो क्षेत्रफलमा खेती विस्तार गरिएको प्रालिका कृषि वैज्ञानिक विवेक शुक्लाले जानकारी दिनुभयो । यो क्षेत्रका लागि नयाँ खेती भएकाले स्थानीय तथा विदेशबाट समेत दैनिक दुई सयदेखि चार सय जनासम्म आउने गरेको खेतीको अनुसन्धान गरिरहनुभएका वैज्ञानिक शुक्लाले जानकारी दिनुभयो । यहाँ युरोप, अमेरिका, इजरायललगायतका क्षेत्रबाट हेर्न÷अध्ययन गर्न तथा ताजा स्ट्रबेरी खरिद गर्न मानिस फर्ममा नै आउने गरेका छन् । स्ट्रबेरी खासगरी चिसो र उच्च क्षेत्रमा मात्र हुने विशेषताको बाली हो । प्रालिले गत वर्ष परीक्षणका लागि चार कट्ठा क्षेत्रफलमा मात्र गरेको थियो भने सो खेतीको परीक्षण सफल भएपछि यो वर्ष विस्तार गरिएको हो । यहाँ भारतको कोलकाताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर खेती गरिएको छ ।

झापाको हावापानीमा समेत राम्रो खेती भएपछि सबैका लागि चासो र सरोकारको विषय भएको छ । यहाँ स्विट सेन्सेसन, स्वरिडा ब्युटी, क्यामारुजा र नामिलिया नामक जातका गरी छ लाख स्ट्रबेरीका बिरुवा रोपिएको स्ट्रबेरी फर्मका कर्मचारी राजेन्द्र भट्टले जानकारी दिनुभयो । करिब चार लाख बोटबाट उत्पादन सुरु भएको छ भने अन्य बिरुवा उत्पादनका लागि तयार भइरहेका छन् । धेरै सुक्खा र गर्मी मौसममा नहुने भएकाले तराईमा यसलाई हिउँद महिनामा लगाउन सकिने अनुसन्धानमा देखिएको छ । रोपेको तीन महिनामा स्ट्रबेरी खानयोग्य हुन्छ । यहाँबाट हालसम्ममा लगभग ५५ टन बजारमा बिक्री भइसकेको छ । हावापानी, मौसमका कारण लागत मूल्य फरक पर्ने भएकाले स्ट्रबेरीलाई तीन प्रकारमा वर्गीकरण गरेर मूल्य निर्धारण गरिएको छ । यसमा प्रतिकिलो चार सयदेखि एक हजार रुपियाँसम्म रहेको छ । कुल १० करोडभन्दा बढीको लगानी भएको छ । यहाँ हाल ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

स्ट्रबेरी मौसमी खेतीका रूपमा लगाइने यो बाली रोपिएको दुई महिनादेखि नै फल्न सुरु हुन्छ । यसले लगातार चार महिनासम्म उत्पादन दिइरहने जनाइएको छ । यहाँ उत्पादन भएका वस्तु प्रदेश १ का मुख्य सहर र काठमाडौँमा बिक्री हुँदै आएको छ । उभोक्ताको माग उच्च रहेकाले उत्पादनले माग धान्न नसकेको कर्मचारी भट्टले बताउनुभयो । प्रालिले देशका विभिन्न स्थानमा गरी जम्मा एक हजार बिघा क्षेत्रफलमा फलफूल खेती गर्ने लक्ष्य रहेको जनाइएको छ । हाल दुई सय बिघामा अग्र्यानिक फलफूल खेती सुरु गरिसकेको बताएको छ । यो खबर आजको गोर्खापत्रमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *