ओली सरकारदेखि खुसी छैन निजीक्षेत्र, ‘स्थायी सरकारको अनुभूति भएन’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकाे शुक्रबार २ वर्ष पूरा हुँदा मुलुकको निजीक्षेत्रले भने आफूले स्थायी सरकारको अनुभूति नपाएको बताएको छ । स्थायी सरकारको गठनपछि व्यवसाय–मैत्री वातावरण बन्ने अपेक्षा गरेका उद्यमीव्यवसायीहरू उल्टै दोहोरो/तेहोरो करको मारमा परेको, निजीक्षेत्रका मुद्दाहरूमा राज्य संवेदनशील हुन नसकेको बताउँछन् ।

शनिवार संघीय संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो २ वर्षमा आँकडा र अनुभूति दुवै दृष्टिले उल्लेख्य सुधार ल्याएको बताउनुभयो । तर, निजीक्षेत्र भने प्रोत्साहनको सट्टा आफू विभिन्न बहानामा स्थायी सरकारको पेलाइमा परेको बताउँछ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्थायी सरकार आए पनि सरकारबाट निजीक्षेत्र निराश नै रहेको बताए । ‘स्थायी सरकार आएपछि व्यवसायीमैत्री रूपमा कानूनी संरचना हुन्छ भन्ने आशा थियो । तर, त्यो देख्न पाएका छैनौं,’ उनले भने, ‘विभिन्न कोणबाट सरकारले निजीक्षेत्रलाई नियन्त्रण गर्ने मात्र कानून ल्याएको छ ।’

‘सरकारले निजीक्षेत्रलाई नाफा कमाउन प्रेरित गर्न आवश्यक छ । तर, सरकारले नियन्त्रण गर्ने प्रयास गरेको छ,’ उनले बताए, ‘नाफा कमाउने वातावरण भयो भने मात्र लगानी भित्रिने हो । तर, अहिले लगानीकर्ताहरू हच्किएको अवस्था छ ।’

संघीयता आएपछि दोहोरो करको मारमा निजीक्षेत्र परेको गोल्छाले बताए । ‘सरकारले एकीकृत रूपमा कर उठाउनुपर्छ । हामी दोहोरो/तेहोरो कर तिर्दातिर्दै थाकिसकेका छौं,’ उनले बताए, ‘राज्य सञ्चालनका लागि कर आवश्यक छ । तर, निजीक्षेत्रलाई अप्ठ्यारो पार्नुु भएन ।’

राम्रा उद्योगलाई पुनर्कर्जा दिने विषयमा पनि सरकारले सहज वातावरण बनाउनुपर्ने र सम्पत्ति शुद्धीकरणको विषयमा सरकार खुकुलो हुनुपर्ने भनाइ निजीक्षेत्रको छ । ‘सरकारले सम्पत्तिको अभिलेखीकरण नै नगरी सम्पत्तिको विवरण मागेको छ । अभिलेखीकरण नभईकन सम्पत्तिको विवरण कसरी दिने,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरणको विषयमा सरकार आवश्यकभन्दा बढी सक्रिय भएको छ । एफएटीएसले मावन बेचविखन र आतंकवादको क्षेत्रमा मात्र सम्पत्ति शुद्धीकरण गर्न भनेको छ । तर, नेपालमा लगभग सबै सम्पत्तिलाई शुद्धीकरण गर्न खोजिएको छ ।’ यही कारण सम्पत्ति शुद्धीकरणको सक्रियताप्रति निजीक्षेत्र सशंकित भएको उनको भनाइ छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *