अल्लाेले दिलायो ‘प्रदेश रत्न’, १० हजारबाट थालेकाे व्यापार ५० लाखमा पुग्याे !

प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गरियाे। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जाे टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्।

अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट विभिन्न कपडा। चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन्। उनी अल्लोबाटै परिचित छिन्। ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जाे टर्छ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ।

चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन्। व्यापारमा उनका पतिले सघाइरहेका थिए। उनका उत्पादन किन्नेको चहलपहल थियो। चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन्। अहिले उनी वार्षिक करिब ५० लाखकाे कारोबार गर्छिन्।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन्। काम गर्दै गएपछि सामानको माग बढ्दै गयो। अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन्। ‘अल्लो त महत्त्वपूर्ण रहेछ। सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन्। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *