सभापति देउवा र नेता पौडेलबीच छलफल

नेपाली काँग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा आज साँझ उहाँहरुबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो ।

झण्डै तीन घण्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गर्नुभएको गृहकार्य तथा छलफलका बारेमा समेत जानकारी गराइएको थियो । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मङ्सिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिनेबारेमा छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा विधानका दफा निलम्वन, पार्टीका केन्द्रीय विभाग, नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायत विषयमा समेत छलफल भएको थियो । शुक्रबार बिहान ९ बजे बसेर टुङ््याउनपर्छ भन्नेमा नेता सहमत हुनुभएको उपसभापति निधिले बताउनुभयो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि नेताहरु सिंह र सिटौला उपस्थित हुनुहुन्थ्यो । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग पूरा नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित हुनुहुन्थ्यो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *