सर्लाहीका उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।
उखु किसान सङ्घर्ष समितिले बुधबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी उखुको बाँकी बक्यौता रकम लिन पुनः आन्दोलनमा उत्रने घोषणा गरेको हो । माघ ९ गतेसम्म पूरा भुक्तानी नपाए जिल्लाका उखु किसान चरणबद्ध आन्दोलनमा उत्रिने भएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार किसानले माघ १० गते कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ गतेदेखि १७ गतेसम्म गाउँ–गाउँमा जनजागरण अभियान सञ्चालन गर्ने र माघ १८ गते गोडैता बजारमा उखुको रकम भुक्तानी पाउन बाँकी रहेका किसानको भेला गरी काठमाडौं केन्द्रित आन्दोलनको स्वरुप र मिति तय गर्ने उल्लेख छ । पत्रकार सम्मेलनमा उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले सरकारसँग प्रतिबद्धता जनाएपछि पनि चिनी उद्योगीले पैसा नदिँदा उखु किसान निराश भएको बताउनुभयो ।

उहाँले उखु किसानलाई पुनः काठमाडौं गएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह समेत गर्नुभयो ।
सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहले अघिल्ला वर्षहरुमा विक्री गरेको उखुको पैसा नदिएपछि किसानहरु पटक–पटक आन्दोलित हुँदै आएका छन् ।

जिल्लामा जति पटक आन्दोलन गरे पनि पैसा नपाएपछि जिल्लाका किसानले गत पुसमा काठमाडौं पुगेर आन्दोलन गरेका थिए । त्यसबेला सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै उखु किसानलाई माघ ७ गतेसम्म पुरानो बक्यौता सबै चुक्ता गर्ने प्रतिवद्धतासहित उखु किसानलाई घर फर्काएको थियो ।

सो सहमतिपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मी चिनी उद्योगले २१ करोड ४० लाख रुपियाँमध्ये ११ करोड ५० लाख रुपियाँ भुक्तानी गरेको छ । विगत तीन÷चार वर्षदेखिको भुक्तानी नगरेको अन्नपूर्ण चिनी उद्योग यस वर्ष सञ्चालन हुन सकेको छैन भने महालक्ष्मी चिनी उद्योग केही साता अघिबाट सञ्चालनमा आइसकेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *