एभरेष्ट पानोरामा रिसाेर्टमा अचेत भेटिएका आठै भारतीय पर्यटकको मृत्यु, चार जना बालबालिका

मकवानपुरको एभरेष्ट पानोरामा रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

रिसोर्टमा बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । यहाँस्थित हेम्स अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचारकै क्रममा रहँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा भर्ना गरेलगत्तै चिकित्सकले आठै जनालाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेहरुमा भारतकाे केरला बस्ने बर्ष ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, अनुमानित ३७ वर्षीय प्रबिण ३२ वर्षीया सरिया रहेका छन् । यसैगरी मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षकी अर्चना, ५ वर्कका वैष्णव, तथा ९ वर्षकी बन्द्रा रहेका छन् ।

मृत्यु हुनेहरुमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेकाे प्रहरीले जनाएकाे छ ।

भारतको केरलाबाट पोखरा हुँदै दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमा एउटै कोठामा सुतेका उनीहरु मंगलबार बिहान अचेत भेटिएका थिए ।

मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरामा सोमबार राति बास बसेका उनीहरु बिहानै अचेत अवस्थामा भेटिएका थिए ।

सूचना पाएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनास्थलमा टोली पठाएर अनुसन्धान सुरु गरेको छ । १५ जनाको समूहमा दामन घुम्न आएका भारतीय पर्यटक रिसोर्टको एउटा कोठामा ७ जना र अर्कोमा ८ जना गरेर बसेका थिए ।

८ जनाकाे काेठामा राति चिसो बढेको भन्दै उनीहरुले ग्याँस हिटर बाल्न होटलमा आग्रह गरेपछि होटल सञ्चालकले हिटर बालिदिएको र सोही कारण अक्सिजन अभावमा उनीहरु बेहोस वा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

अर्को कोठामा सुतेका ७ जना भने सबै सकुशलै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टपछि मात्र प्रस्टसँग खुल्ने जनाइएको छ । – मकवानपुरबाट देवराज पन्त

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *