उखु बेच्दै ऋण बोक्दै

सर्लाहीको विष्णु गाउँपालिका–२, बहादुरपुरका शशिभूषण सिंहले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा तीन आर्थिक वर्षदेखि लगातार उखु बिक्री गर्दै आउनुभएको छ ।

उहाँले बिक्री गरेको उक्त उखुको एक रुपियाँ पनि भुक्तानी पाउनुभएको छैन । हामी तीन दाजुभाइले तीन वर्षदेखिको १२ लाख रुपियाँ लिन बाँकी छ, उद्योगमा भुक्तानी माग्न जाँदा कहिल्यै पनि उद्योगी भेटिँदैनन्, सिंहले भन्नुभयो, यो वर्षदेखि धनकौल मिलमा उखु नदिने तयारी गरेका छौँ । उखु बेचेको पैसा वर्षौंसम्म नपाउँदा घर व्यवहार धान्नै मुस्किल परिसकेको छ ।

समयमै उखुको भुक्तानी नपाउँदा साना किसान ऋणमा डुबेका छन् । खेतभरि लगाएको नगदे बाली उखु बिक्री गरेको पैसा नपाउँदा किसानले ऋण गरेरै व्यवहार चलाइरहेका छन् । साहुको ऋण तिर्न खेत नै बेच्नुपर्ने अवस्था आएको छ, सिंहले गुनासो गर्दै भन्नुभयो, किसानलाई हाकाहाकी अन्याय गर्ने उद्योगीलाई सरकारले केही कारबाही गर्न सकेको छैन । हामी किसान निरीह हुनुपरेको छ ।

उखुको भुक्तानी माग गर्दै किसान धनकौल चिनी उद्योगमा गएर पटकपटक धर्नामा बसेका छन् । बिक्री गरेको उखुको पैसा दिलाइदिन माग गर्दै किसानले सदरमुकाम मलङ्गवामा आएरसमेत प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेसमेत गरे । स्थानीय प्रशासनले अन्नपूर्णलाई पटकपटक पत्र नै लेखेर किसानको भुक्तानी गर्न निर्देशन दिएको छ तर प्रायः काठमाडौँमै बस्ने ती उद्योगका मालिकले प्रशासनलाई समेत टेरेका छैनन् । धेरैजसो बिचौलियामार्फत उखु खरिद गर्ने सो उद्योगले किसानको कति भुक्तानी गर्न बाँकी छ ? भन्ने विवरणसमेत छैन । धनकौलका उखु किसान रामविनय रायले समयमै भुक्तानी नपाउने समस्याले आफूले उखु खेतीको विकल्पमा अन्य बाली लगाउन थालेको बताउनुभयो । उखुलाई नगदे बाली भनिन्छ तर तीन÷चार वर्षसम्म नगद नै देख्न पाइँदैन, रायले भन्नुभयो । दुई वर्षसम्म निरन्तर पैसा नपाएपछि मैले उखुको साटो तरकारी र अन्य खेती लगाउन थालेको छु, उहाँको भनाइ छ ।

सर्लाहीका तीन चिनी उद्योगमध्ये इन्दुशङ्करले अहिलेसम्मको सम्पूर्ण भुक्तानी गरिसकेको छ भने अन्नपूर्णले तीन वर्षदेखिको र महालक्ष्मी चिनी उद्योग बगदहले गत वर्षको भुक्तानी गर्न बाँकी छ । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती हुने तराईका सबै जिल्लाका किसानले भुक्तानीमा समस्या झेल्नु परिरहेको बताउनुभयो । देशभरका १४ मध्ये सर्लाहीको अन्नपूर्ण र रौतहटको श्रीराम सुगर मिल किसानको भुक्तानी दिन नसकेर यो वर्ष सञ्चालन हुने अवस्था छैन, मैनालीले भन्नुभयो, अन्य उद्योग भने धमाधम चल्न थालेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *