प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ ।

चीनका राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौँको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो । निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भन्नुभयो, ‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा सो प्राविधिक टोली नेपाल आएको हो । अध्ययनका लागि टोली एक महिनासम्म सोही सिलसिलामा नेपाल बस्ने जानकारी उहाँले दिनुभयो । ’’ चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

थापाका अनुसार सो टोली चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ ।

उहाँले भन्नुभयो, ‘‘टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ, यस सुरुङमार्गको सवारी चाप के कति हुनसक्छ, कति जनता लाभान्वित हुनसक्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ । टोली तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउँछ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । ’’

सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत तीस अर्ब रुपियाँ लाग्न सक्ने अनुमान गरिएको छ ।

सुरुङमार्गको निर्माणपछि अढाई घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ । यो सुरुङमार्ग निर्माण भएपछि थानसिंह फाँटमा स्याटेलाइट सिटी निर्माण गर्ने योजना सरकारको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *