सभामुखको निर्वाचन कार्यतालिका तय

तिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो ।

औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन । शुक्रबारको प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका प्रकाशनका लागि निर्देशनको तयारी गरेको छ । सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकाअनुसार यही पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ भने १४ गते निर्वाचन हुनेछ । सदनको निर्देशनानुसार संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका प्रकाशन गर्नुहुने छ ।

“हामीले अनौपचारिक परामर्शका आधारमा कार्यतालिका प्रस्ताव गरेका छौँ । हामीले १३ गते मनोनयन र १४ गते निर्वाचनको मिति प्रस्ताव गरेका छौँ । राजनीतिक रूपमा कुनै अर्को निर्णय नभएमा यही कार्यतालिका अगाडि बढ्छ”, सचिवालय स्रोतले भन्यो ।

सभामुखको उम्मेदवारी चयनलगायतका विषयमा राजनीतिक परामर्शका लागि यसअघि अधिवेशनको पहिलो बैठकबाट दोस्रो बैठकको अवधि एक साता तोकिएको थियो तर यसबीचमा राजनीतिक दलबीच औपचारिक रूपमा परामर्श भएको छैन । पुस ४ गतेको परामर्श बैठकमा भने पुस ११ मा कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो ।

सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार उठाउने निश्चित छ तर संवैधानिक व्यवस्था अनुसार सभामुखमा उम्मेदवारी दिन तत्कालीन एमालेबाट उम्मेदवार बन्नुभएकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा आवश्यक छ । उहाँको राजीनामा सभामुख चयनको कार्यतालिका अघि वा पछि यकिन भइसकेको छैन ।

राजीनामाबारे नेतृत्व निर्णायक – उपसभामुख डा. तुम्बाहाङ्फे नेकपाका शीर्ष नेत्री र उपसभामुखबीच कुनै परामर्श भएको छैन । राजीनामाबारे आफूलाई कुनै निर्देशन नआएको तुम्बाहाङ्फेको भनाइ छ । नेतृत्वसँग राजीनामाबारे परामर्श नगरेको पनि उहाँले बताउनुभयो ।

सभामुखको निर्वाचन प्रक्रियाको कार्यतालिका घोषणापछि राजीनामा दिने सोचमा तुम्बाहाङ्फे देखिनुहुन्छ तर उपसभामुखले नै कार्यतालिका प्रारम्भ गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिन नमिल्ने तर्क काँग्रेस नेताहरूले गरिरहेका छन् । सो विषयमा सभापति शेरबहादुर देउवा र नेता रमेश लेखकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको काँग्रेस नेताहरूको भनाइ छ तर मनोनयनअघि राजीनामा दिए मिल्ने नेकपाका नेताहरूको तर्क छ । दुवै पक्षको यस्तो दाबीले राजनीतिक विषय बन्न सक्ने अवस्था भने देखिन्छ ।

विकल्प पनि तयार – प्रतिनिधि सभा सचिवालयले भने उपसभामुखले राजीनामा दिएमा ज्येष्ठ सदस्यबाट सञ्चालनका लागि तयारी अवस्थामा राख्ने पनि परामर्श गरिरहेको छ । सचिवालयले सदनका ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट बैठक सञ्चालनका लागि राष्ट्रिय जनता पार्टीमार्फत परामर्श पनि अघि बढाएको छ ।

ठाकुर प्रतिनिधि सभाका ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकतामा भने राजपाकै महेन्द्र राय यादव ज्येष्ठ हुनुहुन्छ तर उहाँले नागरिकतामा गल्तीका कारण आफू ज्येष्ठ नभएको जानकारी यसअघि नै सचिवालयलाई गराइसक्नुभएको छ । सो अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनमा सभामुख चयन नभएसम्मका लागि ठाकुरले नै बैठक सञ्चालन गर्नुभएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *