वडाध्यक्ष पोषण प्याकेज – पहिलोपटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा

सन्धिखर्क नगरपालिका–१२ डिर्भनाले ‘वडाध्यक्ष पोषण प्याकेज’ वितरण कार्यक्रमको शुरुआत गरेको छ । गर्भवती र सुत्केरीलाई थप पोषिलो खाना खुवाउन पोषण सामग्री वितरण शुरुआत गरिएको वडाध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो ।

पहिलोपटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाँच गर्नेलाई एक क्यारेट अण्डा, एक/एक किलो चना र केराउ वितरण गरिएको छ ।

वडा कार्यालयबाट पोषण प्राप्त हुने सामग्रीको वितरण गरेपछि गर्भवती हुने महिलामा चेतना अभिवृद्धि हुनेसँगै पोषणको मात्रा पनि पूरा हुने भएकाले पोषण कार्यक्रम शुरुआत गरेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडि बढेको बताउनुभयो । वडामा रहेका सबै गर्भ परीक्षण गराएका महिला, सुत्केरी महिलालाई पोषण सामग्री वडाले वितरण गर्नेछ ।

उपप्रमुख ठाकुर विकले वितरण गरिएको पोषणबाट थप केही कुरा सिक्दै नियमितरुपमा शरीरलाई पोषणको मात्रा बढी चाहिने हुनाले पालना गर्नका लागि गर्भवती तथा सुत्केरी महिलालाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गर्भवती रहँदा तथा बच्चा जन्मिसकेपछि पनि स्वास्थ्यलाई स्वस्थ राख्न निकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रमअन्तर्गत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीले सहजीकरण गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेललगायतले पोषणको महत्व माथि चर्चा गर्नुभएको थियो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *