चालकको जबर्जस्तीले दुर्घटना, आफू भने झ्यालबाट हाम्फालेर भागे

बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध आयो । अनि ब्रेकबाट धूवाँ पनि । यात्रुले फेरि पनि कराए– ब्रेक गनायो । रोक्नुस् रोक्नुस् । तर त्यतिन्जेलसम्ममा बसले सडक छाडिसकेको थियो ।

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको त्यो बस आइतबार बिहानै सडकबाट खस्यो । १२ जनाले घटनास्थलमै ज्यान गुमाए । दुई जनाको उपचारका लागि लाँदै गर्दा र एक जनाको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भयो । १७ जना घाइते छन् ।

भक्तपुर च्यामासिंह, आदर्शबाट रिजर्भ गरेर लगिएको बस दोलखाको कालिञ्चोक घुमेर फर्कने क्रममा दुर्घटना भएको हो । यात्रुका अनुसार भक्तपुर क्षेत्रमा चल्ने उक्त बसका चालकका लागि त्यो नौलो रुट थियो । शनिबार बेलुकी लिशंखुपाखर गाउँपालिकाको मुडे बजारमा बास बसेका ३२ यात्रु र चालक आइतबार बिहानै मुडेबाट हिँडेका थिए । चालकले ओभरटेक गर्दै चलाइरहेका थिए । कच्ची र निर्माणाधीन लामोसाँघु–जिरी सडकमा गति नियन्त्रित नहुँदा बस दुर्घटनाग्रस्त भएको प्रहरीको अनुमान छ । बस सडकबाट करिब सय मिटर तल खसेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । बस खस्न लागेपछि चालक भने झ्यालबाट हाम फालेर भागेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *