दुर्घटनाकाे स्थिति भयावह, दैनिक १० जनाको मृत्यु

पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो ।

त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६/७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

यसरी दिनदिनै हुने सडक दुर्घटनाबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण दुर्घटना हुने हो । ठाउँअनुसार यिनै कारणले दुर्घटनामा भूमिका खेलिरहेको हुन्छ ।’

सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप लाग्ने गरेको छ । सरकारले व्यवसायी र चालकलाई दोष दिने गरेको पाइन्छ । व्यवसायी भने सरकारले समयमै बाटो मर्मत सम्भार नगर्दा दुर्घटना निम्तने गरेको गुनासो गर्छन् ।

सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न चुक्दा बढी दुर्घटना हुने गरेको पाइन्छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारले सडक मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना बढेको बताउँछन् । ‘पछिल्ला ठूला दुर्घटना सबै ग्रामीण भेगका कच्ची सडकमा भएका छन्, सरकारले सडक मर्मत सम्भार तथा व्यवस्थित नगर्दा दुर्घटना बढेको हो,’ उनले भने । यो खबर आजको नागरिक दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *