बढ्दै छ नेपालबाट बाहिरिने ‘रेमिटेन्स’, ३ महिनामै १ अर्ब ३१ करोड रकम बाहिरियाे

चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महिनामा नेपालबाट विप्रेषण (रेमिटेन्स) मार्फत रू. १ अर्ब ३१ करोड रकम बाहिरिएको छ । गत आवको प्रथम त्रैमासमा विप्रेषणमार्फत रू. १ अर्ब ८ करोड बाहिरिएको थियो । चालू आवको प्रथम त्रैमासमा विप्रेषण उत्प्रवाह (बाहिर जाने) २१ दशमलव २९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नेपालका विभिन्न प्रतिष्ठानमा कार्यरत विदेशी कामदारहरूले उक्त रकम विदेश पठाएका हुन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपालबाट वार्षिक रू. १० अर्बभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको छ । गत आव २०७५/७६ मा विप्रेषणमार्फत कुल रू. १० अर्ब ८० करोड रकम बाहिरिएको थियो, जुन आव २०७ं४/७५ को तुलनामा ८६ दशमलव २० प्रतिशतले बढी हो । आव २०७४/७५ मा रू. ५ अर्ब ८० करोड बराबरको विप्रेषण उत्प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ ।

नेपालबाट कुन देशमा कति विप्रेषण उत्प्रवाह भयो भन्ने विषयमा भने राष्ट्र बैंकसँग यकिन तथ्यांक छैन । तर, नेपालदेखि भारतमा सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । नेपालमा भारतका कामदार बढी भएकाले त्यहाँ सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले नेपालबाट यति विप्रेषण उत्प्रवाह हुनु स्वाभाविक भएको बताए । ‘आर्थिक वृद्धिदर बढाउन विदेशी जनशक्ति पनि आवश्यक हुन्छ । अहिले देशको आर्थिक वृद्धिदर बढिरहेको छ । तसर्थ, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं,’ उनले भने, ‘मुलुकको आर्थिक वृद्धिदर घट्ने र विप्रेषण उत्प्रवाह बढ्ने गरेको भए अर्थतन्त्रमा नकारात्मक असर गर्ने थियो ।’ नेपालमा वार्षिक रू. ८ खर्बभन्दा बढी विप्रेषण आप्रवाह हुने गरेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *