जुम्लाको गुठीचौर गाउँपालिकाले कुकुर, बिरालो तथा अन्य पशुको उपचारमा समेत कर लगाएको छ । पशु बिरामी भएमा स्थानीयले १० देखि ५० रुपैयाँसम्म कर तिर्नुपर्ने बाध्यता छ । दैलेखको महाबु गाउँपालिकाले विकास योजनाको सम्झौता गर्दा र भुक्तानी लिँदा पाँच/पाँच सय रुपैयाँ कर लगाएको छ । नारायण नगरपालिकाले अधिकांश वडामा जग्गा मूल्यांकनको दररेट बढाउँदा स्थानीयवासी ऋण लिएरै भए पनि कर बुझाउन बाध्य छन् । दैलेखका ११ वटै स्थानीय तहका कर शीर्षक र रकम फरकफरक छन्। सुविधाविहीन बस्तीमा पनि सदरमुकामकै दरमा कर लगाइँदा स्थानीयलाई आर्थिक भार परिरहेको छ। अधिकांश स्थानीय तहले गत वर्षभन्दा १० प्रतिशत कर रकम वृद्धि गरेका छन्।
नारायण नगरपालिका–१० का भुवन बोगटीले सुविधा नहेरेरै नगरपालिकाले जथाभावी जग्गा मूल्यांकनको रकम बढाउँदा अधिकांश बासिन्दाले तिरो तिर्न नसकेको बताए। ‘नगरले लागू गरेको दररेटमा जग्गा बिक्री हुँदैन, बेकार कर मात्र तिर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस वर्षको नगरसभाबाट थप १० प्रतिशत कर वृद्धि गरिएपछि विपन्न नागरिकलाई कर तिर्नै धौधौ छ।’ याे खबर कान्तिपुर दैनिकमा छ।