चितवनको नारायणी नदी किनारामा आज ‘सप्तरङ्ग २’को कन्सर्ट हुने भएको छ । सातै प्रदेशमा सञ्चालन गरिने ‘सप्तरङ्ग २’को सुरुवात कात्तिक २० गते झापाको विर्तामोडबाट सुरु भएको थियो । सातै प्रदेशमा सञ्चालन हुने ‘सप्तरङ्ग २’को कन्सर्ट आईतबार (आज) नारायणी किनारमा हुन लागेको हो । नारायणी नदी किनारामा हुने कन्सर्टको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड आउदै छन् । मुलुकको सातै प्रदेशमा पर्यटन प्रवर्धनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । पहिलो सिजनमा सात प्रदेश बीचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने प्रयास भएको आयोजकको दाबी छ ।
नेपाल सरकारको अभियान भिजिट नेपाल २०२०लाई लक्षित गर्दै सांगितिक यात्रा मार्फत कार्यक्रम अगाडि बढाईएको आयोजक संस्था गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए । पर्यटन बर्ष २०२० लाई लक्षित कार्यक्रम भएकोले प्रबेश शुल्क निशुल्क गरिएको छ । झापाको विर्तामोडबाट सुरु भएको कार्यक्रम चितवन हुँदै २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिने बताइएको छ । केदार आचार्य