३ करोडको लगानीमा बाल उद्यान सञ्चालन, भ्रमण वर्षलाई सफल बनाउन टेवा पुग्ने अपेक्षा

एजेन्सी, कैलाली । तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा आएको फन–पार्क भित्रै बाल उद्यान सुरु गरिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा केही दिनमै बाल उद्यानको औपचारिक उद्घाटन गरिने सञ्चालक श्याम विष्टले जानकारी दिए । ‘हाम्रो सम्पूर्ण तयारी भइसकेको छ’ उनले भने, ‘अब औपचारिक उद्घाटन मात्रै बाँकी छ ।’

बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने तयारी गरिएको उनले बताए । फन–पार्क भित्रै बाल उद्यान सञ्चालन भएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए । ‘चार महिनामा मात्रै हामीले २० हजार बढी पर्यटक भित्र्याएका छौँ’ उनले भने, ‘बाल उद्यान सुरु भएपछि यो संख्या अझै बढ्ने छ ।’

१५ करोड बढी लगानीमा २०७५ साल वैशाख १४ गते फन–पार्क सञ्चालनमा आएको थियो । यहाँ आउने मध्ये ७५ प्रतिशत भारतीय पर्यटक रहेको उनले जानकारी दिए । फन–पार्कमा भारतको पलिया, साजनपुर, पिलिभित, लखनऊ, कानपुर लगायतका सहरहरूबाट पर्यटकहरू आउने गरेको सञ्चालक विष्टले जानकारी दिए । अहिलेसम्म पर्यटकहरू जल विहार गर्न मात्रै आउने गरेका बताउँदै विष्टले भने, ‘आगामी दिनमा बाल उद्यानमा रमाउन आउने पर्यटकहरूको संख्या बढ्दै जाने विश्वास लिएका छौँ ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठूलो लगानीमा सुरु गर्न लागिएको बाल उद्यानमा ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्स लगायत रहेका छन् । बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने तयारी गरिएको छ । उद्घाटनको दिन प्रवेश निःशुल्क व्यवस्था गरिएको भए पनि १८ गतेदेखि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने विष्टले जानकारी दिए ।

सरकारले महत्वकांक्षीका रूपमा आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला निजी क्षेत्रबाट भएका यस्ता प्रयासहरूले भ्रमण वर्ष सफल बनाउन ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

– दीपक उपाध्याय

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *