मनै लोभ्याउने यो रापानी झरना, प्रचारप्रसार नहुँदा ओझेलमा

एजेन्सी, जाजरकोट। आहा, कति सुन्दर झरना ! देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर दक्षिणपूर्वमा रहेका झरनाको बनावट अनौंठो खालको छ । आवश्यक प्रचारप्रसार नहँुदा यो झरना ओझेलमा परेको स्थानीय रत्नबहादुर सिंहले बताउनुभयो ।

सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुनसके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने सिंहको भनाइ छ ।माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आर्कषण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको स्थानीय समीक्षा सिंहले बताउनुभयो । यहाँ रापानी झरना र माथिल्लो रापानी झरना रहेका सिंहले बताउनुभयो । छेउमै कलकल बग्ने नलसिंहगाड खोलाको सुन्दरतासँगै खुला अनि वरीपरी हरिया पहाडको बीचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवं आकर्षक पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीय वीरराज सिंहले बताउनुभयो ।

शनिबार तथा बिदाको समय झरनामा पुगेर फोटा खिच्ने र रमाउने युवायुवतीको सङ्ख्या पनि ठूलै रहने गरेको सिंहले जानकारी दिनुभयो । झरनासम्म पुग्न पक्की घोरेटो बाटो र मान्छे हिँड्ने सहज पैदलमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । झरनासम्म पुग्न गतिलो बाटो समेत छैन । सात सय वर्ष पहिले खगेनकोटी राजा शिकार खेल्न गएका बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ ।राजाले पिएको पानी भएको हँुदा यस झरनाको नाम रापानी (राजाले पिएको पानी) झरना रहन गएको स्थानीयवासी कर्णबहादुर खत्रीले बताउनुभयो ।

समुद्री सतहदेखि करीब एक हजार मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाइ झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको लम्बाइ दुई सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खारागल्छी, झरनाको तलबाट सुसाउँदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जङ्गलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ ।हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जङ्गली जनावर तथा पक्षी देख्न सकिन्छ ।

यहाँ सामान्य पूर्वाधारको विकास गर्न सके पर्यटकको आकर्षण बढ्ने स्थानीयवासीको विश्वास छ । झरनाको प्रचार र प्रवद्र्धन गर्न गाउँपालिकाले पनि पहल गर्ने अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । गुरुयोजना तयार गरी झरनाको विकास गरिने उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “बारेकोटका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीयस्थल रहेका र तिनिहरुको प्रचारप्रसार गर्न गाउँपालिका लागि परेको छ ।” लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयवासी झरनास्थल पुगेर रमाउने गरेका छन् । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा स्थानीयवासीको जोड छ ।

– रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *