२५ गाउँका सर्वसाधारणलाई उठिबास लगाउने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान

एजेन्सी, काठमाडौं। सर्लाहीका २५ गाउँका सर्वसाधारणलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान भएका छन् । ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।

शुक्रबार सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ठगी मुद्दामा श्याम परदेशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीविरुद्ध विपन्नलाई एकपटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मिणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । रुक्मिणीले यही भदौ ५ गते परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठग्दै आएकाे भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए । उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो ।

परदेशीले सर्लाहीको हरिवन, नवलपुर लगायतका सात गाँउ स्थानीयलाई सैतानी व्याजको पासोमा फसाएका छन् । उनीसँग २ सय ९९ जना व्यक्तिले परदेशीबाट १५० जना भन्दा बढीले १ करोड ९ लाख ५१ हजार रुपैयाँ ऋण लिएका थिए । उनीहरुले अहिलेसम्म १ करोड ४७ लाख ४ हजार तिरिसकेका छन् ।

एउटै मान्छेको नाममा ऋण दिएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए ।

पीडितहरूले वास्तविक ऋण तिर्न तयार भएको तर श्याम परदेशीको सैतानी व्याजको छानबिनको माग गर्दै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा बादल लगायतलाई भेटेर समस्या राखेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *