खाल्डो छल्न खोज्दा बस पल्टियाे, २१ घाइते, ७ काे अवस्था गम्भीर

एजेन्सी, बैतडी। यहाँकाे पाटनस्थित लाेर्खामा आज बिहानै बस पल्टिँदा २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ जाँदै थियाे । बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन- ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएकाे छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान पनि गम्भीर घाइते छन् ।

गम्भीर घाइते भएका सातै जनालाई डडेल्धुरा अस्पतालमा रेफर गरिएको इप्रका पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले बताए । उनका अनुसार सडकको खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा बस पल्टिएकाे हाे ।

बस पल्टिएर सडकभन्दा करिब १० मिटर तल खसेको भने बसका चालक फरार छन् । उक्त बसमा ३० जना यात्रु सवार रहेकाे प्रहरीकाे भनाइ छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *