हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्यो

एजेन्सी, मकवानपुर । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् ।

विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको सङ्ख्या ह्वातै बढ्नाका साथै वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी पनि बढेकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

एकातिर अस्पतालमा बिरामीलाई श्यया पाउन कठिन भएको छ भने अर्कोतिर कर्मचारीलाई श्यया व्यवस्थापन गराउन झन् कठिन बन्दै गएको छ ।

चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये कतिपय श्यया नपाएर अन्यत्र गएका छन् भने कतिपय बिरामी श्ययाका लागि कुरेर श्यया बाहिर बस्ने गरेको पाइएको छ ।

दुई महीनायता डेङ्गु र भाइरल ज्वरोका कारण बिरामीको चाप बढेर भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका श्ययासमेत अभाव हुँदै गएको छ ।

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ ।

दैनिक ५\० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेको बालरोग विशेषज्ञ डा राजु सेढाईंले बताउनुभयो ।

उनले भने, “डेङ्गु देखिए पनि सामान्यतया खान नसक्नेसम्मका बच्चालाई घर पठाएका छौँ, तर भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई श्यया नपुगे पनि हामीले कुरुवा बस्ने श्यया, भुइँ कोरिडोर सबैतिर राखेर उपचार गरिरहेको छौँ ।” उनका अनुसार बच्चामा डेङ्गु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *