वाइवाइ उद्योगले सहमति पालना नगरेकोमा स्थानीय सरकार रुष्ट

एजेन्सी, सुनसरी। उद्योग संचालनका लागि भएको सहमति कार्यान्वयन नगरेको भन्दै सुनसरीको गढी गाउँपालिकाको कार्यालय चौधरी ग्रुपप्रति रुष्ट देखिएको छ ।

वडा नम्बर २ मा सञ्चालनमा रहेको उद्योगले स्थानीय सरकारका रूपमा रहेको गाउँपालिकाको कार्यालयसँग भएको सम्झौता पालना नगरेकाले कानुनी प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

आवेदन खुला नगरी आफूखुसी कर्मचारी भर्ना गरेको, जग्गादाता सहित स्थानीयहरूलाई प्राथमिकता नदिएको, विना स्वीकृति संरचना निर्माण गर्नुका साथै आपसी समन्वय कायम नगरी मनपरी गर्ने गरेको गाउँपालिकाको भनाई छ ।

गाउँपालिकाको कार्यालयले दुई पक्षबीच भएको सहमति कार्यान्वयनमा नल्याउनुको कारण सहित लिखित जवाफ फर्काउनु भन्ने आशयको पत्र समेत उद्योगका नाममा काटेको छ ।

तीन दिनको म्याद दिइएको पत्रमा गाउँपालिकासँग भएको सम्झौता अविलम्ब कार्यान्वयनमा ल्याउनु भनिएको छ ।

स्थानीय स्तरमा असन्तुष्टिका स्वरहरू बढ्न थालेपछि गाउँपालिकाको टोलीले उद्योगको स्थलगत अनुगमन समेत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीको नेतृत्वमा उद्योग पुगेको टोलीले कामदारको अवस्था, तलब सुविधा, उत्पादन प्रक्रिया, सरसफाइका अलावा कर्मचारी भर्ना प्रक्रिया लगायतको बारेमा जानकारी लिएकाे थियाे ।

उपाध्यक्ष चौधरीले जनगुनासो बढेसँगै उद्योग प्रतिको विश्वसनीयतामा प्रश्न खडा भएको भन्दै अनुगमन गर्नु परेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले उद्योगले गाउँपालिकासँग गरेको सम्झौता पालना नगरेको बताए ।

भवन, कार्यालयको घर नक्सा पास, सडक निर्माण तथा मर्मत, कर तथा रोजगारी लगायतका विषयमा भएको सहमति कार्यान्वयनमा नआएको गाउँपालिकाले जनाएको छ । कामदारलाई पोशाक अनिवार्य नभएको र मास्क नलगाई काम गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

वडा नम्बर २ का अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा उद्योगका प्रतिनिधि सहित बसेको बैठकका क्रममा भएको सहमति उद्योगले कार्यान्वयनमा नल्याएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।

यादवले स्थानीय सरकारका रूपमा रहेको गाउँपालिकासँग समन्वय र सहकार्य नगरी उद्योग सञ्चालनमा रहेको भन्दै आक्रोश पोखे । उनले भएका सहमति पालना नगरी अघि बढ्न खोजे स्थानीय सरकार समेत सोही अनुरूप कानुनी प्रक्रियाको बाटोमा बढ्ने बताए ।

अध्यक्ष यादवले कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनु पर्ने भन्दै गाउँपालिकासँगको समन्वय बेगर अघि बढ्न खोजे आफूहरूलाई मान्य नहुने बताए ।

उता सीजी फ्रुड्स औरावनीका प्रशासन प्रवन्धक सञ्जय भट्टराईले गाउँपालिकाले लगाएको आरोप निराधार रहेको बताएका छन् । केही प्रक्रियागत कामहरू सम्पादनको चरणमा रहे पनि उद्योग प्रशासन प्रति लक्षित गरी लगाइएका आरोपमा सत्यता नभएको उनले बताए । भट्टराईले गाउँपालिकासँग भएको सहमति अनुरुपनै आफूहरू अघि बढिरहेको बताए ।

कर्मचारी भर्नाको सवालमा स्थानीयलाई नै प्राथमिकता दिइएको बताएका भट्टराईले आवश्यकता अनुरूप जनशक्ति भर्ना गरिने भएकाले सबै क्षेत्रमा सोर्सफोर्स भने बाध्यकारी हुन नसक्ने बताए । सीजी फुड्सले औरावनीमा उद्योग स्थापना गरी वाइवाइ चाउचाउ लगायतका सामग्री उत्पादन गर्दै आएको छ ।

– अमर काफ्ले इनरुवा

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *