नौबिसे-नागढुङ्गा सवारी जामले बाटोमै बिरामीको ज्यान गयाे

एजेन्सी, काठमाडौं। नौबिसे–नागढुंगा सडक खण्डकाे सवारी जामका कारण एक बिरामीको बाटाैमै ज्यान गएको छ ।

प्रहरी स्राेतका अनुसार रौतहटबाट काठमाडौँ उपचारका लागि ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको बाटाैमै मृत्यु भएको हो । साह मृगौलाका बिरामी हुन् ।

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवबेँसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो । राति २ बजेबाटै साे सडकखण्डमा जाम सुरु भएको थियाे । बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा काठमाडाैँ आउँदै थिए ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडाैँ ल्याइँदै थियो । लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बताउनुभयो ।

एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो । शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए । आमासँगै सिटमा बसेका शाहकमे उनको काखमै मृत्यु भएको हो । सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम लागेको थियो ।

एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ । दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र छन् । मर्मतका कारण उक्त सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म दैनिकजसाे घण्टाैँ सवारी जाम हुने गरेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *