सबैखाले पर्यटकको रोजाइको गन्तव्य तनहुँ

एजेन्सी, काठमाडौं। आज विश्व पर्यटन दिवस मनारहँदा र नेपाल सरकारको पर्यटन विकासका लागि निर्धारित भ्रमण वर्ष पनि मनाइरहँदा, त्यसका लागि तनहुँमा के-कस्ता कार्यक्रम भएका छन् त भन्ने जिज्ञासा तनहुँबासीको हुनु स्वभाविकै हो । त्यसका अलावा तनहुँमा सम्भावना बोकेका पर्यटकीय स्थान कुन-कुन हुन् र कस्ता छन् भन्ने पनि उत्तिकै चासोको विषय हो । जसले तनहुँको पर्यटन विकासमा लाभ पुर्याछउन सहयोग गर्नेछन्, पर्यटकलाई आकर्षित गर्न सफल बनाउनेछन् ।

तनहुँ आफैँमा उक सुन्दर पर्यटकीय गन्तव्य मानिन्छ । तर आवश्यक प्रचारप्रसारको अभावमा सोचेजस्तो यहाँ पर्यटक भित्र्याउन सकिएको छैन । तर पनि पर्यटनमा केही प्रतिशत फड्को मार्न सफल भएको देखिन्छ । यहाँका सांस्कृतिक, प्राकृतिक तथा धार्मिक सम्पदा नै पर्यटकका लागि मुख्य आकर्षण हुन् । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य ‘पहाडकी रानी’ नामले चिनिने बन्दीपुर हो । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । सदियौंदेखि भारतका विभिन्न सहर हुँदै तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र थियो बन्दीपुर ।

पश्चिमका अपि–सैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौं चुचुराहरू यहाँबाट देख्न सकिन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घरहरू बन्दीपुरको प्रमुख आकर्षण हो ।

अठारौं शताब्दीमा निर्मित खड्कदेवी मन्दिर, विन्ध्यवासिनी, रानीवन, दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरका मुख्य आकर्षण हुन् । प्याराग्लाइडिङ पनि पछिल्लो समय यहाँको मुख्य अकर्षण बन्दै गएको छ । १ हजार ३० मिटर अग्लो डाँडामा रहेको बन्दीपुरको सुन्दरता हेर्न धेरै पर्यटक आउने गर्छन् । तर त्यहाँको सुन्दरताको तुलनामा भने भित्रिएका पर्यटक त न्यून नै हुन् भनेर आँकलन गर्न सकिन्छ ।

बन्दीपुरका होटल तथा रेस्टुराँले आफ्नो क्षमता बढाएका छन् । केही खुल्ने क्रममा पनि छन् । सस्तो होमस्टे प्याकेज पनि सञ्चालनमा ल्याइएका छन् । बन्दीपुर आउने पर्यटकलाई यहाँको हावापानी, संस्कृति र रीतिरिवाजले निक्कै लोभ्याउँछ । फेरि आऊँ–आऊँ लाग्ने बनाउँछ ।

यहाँको अर्को पर्यटकीय गन्तव्य स्थल वेदव्यासको जन्मभूमि दमौली हो । यहाँ आउनेहरुका लागि दमौली भ्रमण महत्त्वपूर्ण मानिन्छ । ४ वेद तथा १८ पूरायणका रचयिता वेदव्सको जन्मभूमि तथा अन्नपूर्ण हिमशृंखलाको छुट्टाछुट्टै मुहानबाट उत्पत्ति भएका सेती र मादीजस्ता सदावहार नदीहरू दमौलीमा आएर मिल्छन् । जिल्ला सदरमुकाम समेत रहेको दमौली व्यास गरपालिकाअन्तर्गतको मुख्य बजार क्षेत्र हो, जुन समुद्री सतहबाट ३५० मिटरको उचाइमा छ ।

दमौलीको छानो मानिन्छ तनहुँकालिका जङ्गल पार्क । यसको मनमोहक दृश्यले जोकोहीलाई तनहुँ आउन प्रेरित गरिरहन्छ । तनहुँकालिका देवीले सम्पूर्ण पर्यटकलाई स्वागत गर्न आतुर देखिन्छिन् । दमौलीमा नै मादी नदीको पश्चिमतर्फ पराशर ऋषिको आश्रम छ । सोही नदीको पूर्वपट्टि व्यास गुफा छ । महर्षि पराशरको तपोभूमि तथा वेदव्यासको जन्मभूमि दमौलीले वास्तवमा एउटा सभ्यतापूर्ण इतिहास बोकेको छ ।

दमौलीलाई कुहिरोले ढाक्दै सुरक्षा दिने मानुङ डाडा पुगेपछि जोकोहीलाई हत्तपत्त तल झर्न मनै लाग्दैन । यस क्षेत्रमा विभिन्न जातजातिको बसोबास रहे पनि दरै र बोटे आदिवासीको रूपमा परिचित छन् । दरै जातिका हस्तकला ९छत्री, ढकिया, गुदको गुन्द्री एवं माछा मार्ने ढडिया० नेपालमै प्रसिद्ध छन् ।

अर्को प्रसिद्ध स्थल हो, तनहुँसुर । बाइसे–चौबिसे राजाको पालामा अन्तिम सेन वंशी राज्यको रूपमा समेत परिचित छ तनहुँसुर । यहाँ रहेका पुराना दरबार, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखानाका अवशेषहरू पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र हुन् । तनहुँसुर ऐतिहासिक, धार्मिक, पुरातात्विक, राजनीतिक, सांस्कृतिक तथा जैविक विविधताको केन्द्रविन्दु पनि हो । तनहुँसूर हाल शैक्षिक पर्यटकीय स्थलका साथै होमस्टेको समेत नमुनाको रूपमा अगाडि बढ्दैछ ।

यहाँको अर्को महत्वपूर्ण ठाउँ आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदी रम्घा हो । भाषिक अवलोकन समेत यहाँ गर्न सकिन्छ । धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी, जहाँ पृथ्वी राजमार्गको आँबुखैरेनी र बन्दीपुरबाट पुग्न सकिन्छ । धरमपानी, झारगाउँ, लाब्दी र हिलेखर्कमा गुरुङ, भुजेल सांस्कृतिक ग्रामहरूको अवलोकन, होमस्टेलगायत यहाँका आकर्षण हुन् ।

यहाँ दमौली–चितवन जलविहार समेत गर्न सकिन्छ । दमौलीबाट कोइदिमघाट, खहरे, साराङघाट, प्युघर, गाईघाट हुँदै चितवनसम्मको सेतीमादी जलविहार कार्यक्रम उत्कृष्ट पर्यटकीय प्याकेजको रूपमा लिन सकिन्छ ।

वर्षको बाह्रै महिना जलविहार सञ्चालन हुने देशको एकमात्र सेती नदी, जसलाई तातोपानीको जलविहार भनेर पनि चिनिन्छ, यहीँ पर्छ । दमौलीबाट चितवनसम्मको ३२ किमी जलविहार गर्दा भरपुर आनन्द लिन सकिन्छ ।

तनहुँ गुफैगुफैको जिल्लाले समेत परिचित छ । एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा, पराशर र व्यास गुफा, सिद्ध गुफा (भानुमति), शीतल गुफा (व्यास ५), अनन्त गुफा (व्यास ५, झाँकी थुन्का गुफा (वरभन्ज्याङ), मिलेनियम गुफा (फिरफिरे) आदि छन् ।

तनहुँका सांस्कृतिक ग्रामहरूमा जनजातीय सभ्यता अवलोकल गर्दै पनि मनोरञ्जन लिन सकिन्छ । त्यस्ता ग्रामीण क्षेत्रमा विभिन्न जातजातिविशेष परम्परा नियाल्न पाइन्छ । त्यस्ता ग्राम–क्षेत्रहरु हुन् : पुलिमराङ, हिलेखर्क, धरमपानी, झारगाउँ, फिरफिरे, थप्रेक, छापथोक, टुटेपानी (गुरुङ), गंगलीथोक, रहु, गोल्ला, कोइदिम, मानहुँ, केशवटार (मगर), दगाम (गुरुङ तथा मगर), रिसिङ रानीपोखरी, घिरिङ, मैवल, दलभञ्ज्याङ (नेवार), एक्लेखेत (पुन), दुम्सी, सिमलटार, रतौली, खर्कौली, लामीडाँडा (भुजेल), चामबास (तामाङ) .

संघीय राजधानी काठमाडौंदेखि ११० किमी र पर्यटकीय नगरी एवं प्रदेश राजधानी पोखराबाट १९ किमी पूर्वतर्फ नेपालकै केन्द्रविन्दुमा पर्छ तनहुँ । १५४६ वर्ग किलोमिटरमा फैलिएको यो जिल्लाले धरातलीय स्वरुपअनुसार समुद्री सतहबाट २५० मिटरमा अवस्थित देवघाट क्षेत्रदेखि २३२५ मिटर उचाइमा छ ।

प्राकृतिक छटाका साथै धार्मिक, ऐतिहासिक, जनजातीय विविधामय खजानाले भरिपूर्ण तनहुँका यी सम्पदाको संवर्द्धन तथा विकासमा जुट्न सके यहाँको पर्यटकीय विकास गुणात्मक र परिणामात्मक दुवै हिसाबले माथि उठ्ने देखिन्छ ।

– प्रकृति खनाल

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *