नेपाल बैंकर्स एसोसियसनको बैठक आज, मुख्य एजेन्डा- बैंक अफ काठमाडौंका पूर्वसीईओ श्रेष्ठ

एजेन्सी, काठमाडौं। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले आज (मंगलबार) बस्ने बैठकमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)बारे मुख्य एजेन्डा बनाउने भएको छ ।

झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत शुक्रबार बैंक अफ काठमाडौंका पूर्वसीईओ अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो । यस विषयमा बृहत रुपमा छलफल गर्नकाे लागि नेपाल बैंकर्स एसोसियसनले आज बैठक बोलाएकाे छ ।

बैंक अफ काठमाडौंका पूर्वसीईओ श्रेष्ठ पक्राउ परेपछि बाँकी बैंकका बहालवाला र पूर्व कर्मचारीहरुसमेत आत्तिएका छन् । धितो लिने र ऋण प्रवाह गर्ने सबै ठाउँको धितो परीक्षण गर्न सीईओ नजानु सीईओकै गल्ति भएको एक बैंकर्सले बताए । ‘धितो परीक्षण गर्न सीईओ आफै जाँदैनन्, स्थानीय कर्मचारी पठाउँछन् ।’ एक बैंकर्सले भने ।

कर्जा दिने वेला धितो मूल्यांकनको जिम्मेवारी धितो मूल्यांकनकर्ताको हुने गर्दछ । धितो मूल्यांकनकर्ता र कर्जा शाखाका कर्मचारीको मिलेमतोकै कारण बैंकमा अनियमितता भएको थियो । प्रहरीका अनुसार सो बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको हो ।

पूर्वसीईओ श्रेष्ठ पक्राउ परेपछि आफूहरु पनि पक्राउ पर्ने सक्ने र यसरी काम गर्न नसक्ने एक बैंकरले बताए । सबै कागजपत्र मिलाएरै ऋण दिने र उक्त ऋण नउठ्दा पक्राउ परिने अवस्था आएको बैंकहरुको भनाई छ । बैंकका कर्मचारीहरूले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्दागर्दै पनि पक्राउ गरेको भन्दै गुनासो गरेका छन् ।

पक्राउ परेका ११ जनाविरुद्ध बैंकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले तीन वर्षअघि खोलाको जग्गा धितो राखेर रु चार करोड ५० लाख ऋण दिएको खुल्न आएको छ ।

एक प्रहरी अधिकृतका अनुसार ऋण दूरुपयोगमा प्रत्यक्ष संलग्नता देखिनेहरुलाई मात्र मुद्दा हाल्ने तयारी भइरहेका छ । ‘ऋण दूरुपयोगमा प्रत्यक्ष संलग्नता देखिनेहरुलाई मात्र हामी मुद्दा हाल्छौं। अहिले थप केही पनि बताउन सकिँदैनाैं,’ एक प्रहरी अधिकृतले भने ।

कमसल र नक्कली कागजात प्रयोग गरी खोलाको जग्गा धितो राखेर ऋण दिएको प्रहरीले जनाएको छ । बैंकसम्बन्धी कसुर मुद्दामा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *