जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ, त्यो व्यक्ति सफल पनि हुन्छ

एजेन्सी, काठमाडौं। जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ ।युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् । त्यही युवालाई प्रतिनिधित्व गर्ने एक युवती हुन्– रस्मी पन्त । जो अहिले प्रभु बैंकको ‘चिफ कर्पोरेट प्लानिङ अफिसर’ को पदीय जिम्मेवारीमा छिन् । ३१ वर्षीय पन्त तीन वर्ष अघि नै प्रभु बैंकको मानव संशासन विभाग प्रमुख (एचआर हेड) भैसकेकी हुन् ।

पन्तको उमेर समूहका धेरै युवा जागिरको खोजीमा छन् । तर, उनी तिनै तन्नेरीको ‘इभ्यालुएसन’ गरेर बैंकमा कर्मचारी नियुक्त गर्छिन् । उनले बैंकमा २१ सय कर्मचारीको विभागीय प्रमुख एचआर हेडहख रुपमा काम गरिरहेकी छिन् ।गन्तव्य पहिचान नगरी भौँतारिरहेका युवाका लागि उनी आदर्श बन्न सक्छिन् । उनको प्रष्ट दृष्टिकोण र लाइफ प्लानले ‘करिअर’लाई अघि बढ्न सहयोग पुगेको छ । उनबाट नयाँ पुस्ताले धेरै सिक्न सक्छ ।कञ्चनपुरको महेन्द्रनगर नगरपालिका वडा नं १८ की पन्त बैंकिङ करिअरमा कम उमेरमै उच्च पदमा पुग्ने बैंकर महिलामा पर्छिन् ।

बैंकिङ क्षेत्रमा प्रवेश गरेको छोटो समयमै उच्च पदीय जिम्मेवारी सफलताका साथ पूरा गरेकी छिन् ।पन्तले ‘विनापरिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरिन् । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा उनलाई सफलताको सिँढी चढ्न सघाउ पुगेको छ ।पन्त आफ्नो दायित्व पूरा गर्दै बैंकको उच्च पद प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुग्न ‘गोरेटो’ बनाउँदै छिन् । नेपालको बैंकिङ इतिहासमा २८ वटा कमर्सिलय बैंकमा अहिलेसम्म एक जना मात्र महिला सिइओ छन् ।

सबैतिर ३३ प्रतिशत महिला सहभागिताको कुरा भैरहेका बेला बैंकिङ क्षेत्रको उच्च पदमा महिलाको किन खडेरी छ त ? त्यो ‘स्पेस’लाई पूरा गर्ने उनको दृढता छ ।महिला भएकै कारण मात्र अवसर पाउनु पर्छ भन्नेमा उनले विश्वास गर्दिनन् । तर, आफ्नो जिम्मे वारीलाई सफलताका साथ पूरा गरेर ‘सिइओ’ बन्न ढोका खुल्नेमा आशावादी छन् । ‘आफूले काम गरेको क्षेत्रको प्रमुख पदमा पुग्ने इच्छा हुनु स्वाभाविक हो,’ रस्मीले भनिन्, ‘त्यसका लागि मिहिनेत गरिरहेकी छु ।’सन् २०१५ मा खुल्ला प्रतिस्पर्धाबाट ‘बैंकिङ करिअर’मा प्रवेश गरेकी पन्त अहिलेको प्रतिस्पर्धी बजारमा उच्च पदमा पुग्न सामना गर्नुपर्ने चुनौतीका बारेमा भने सचेत छिन् ।

‘चाहेर मात्र पद प्राप्त हुँदैन,’ उनले भनिन्, ‘पदीय जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ ।’बैंकिङ क्षेत्रमा काम गरेपछि सिइओ बन्ने चाहना राख्नु स्वाभाविक हो ।‘एक दिन बैंकको सिइओ हुने लक्ष्य,’ उनले भनिन् ।उनी आफ्नो काममा दत्त चित्त भएर काम गर्छिन्।त्यही भएर उनलाई व्यवस्थापनले पनि जिम्मेवारी थप्दै लगेको छ ।‘सायद मेरो क्षमता बुझेरै व्यवस्थापनले जिम्मेवारी दिएको हुनुपर्छ,’ उनले भनिन्, ‘आफ्नो टिओआरको काम समयमै सक्छु ।’ काम गर्दा टिमवर्कमा विश्वास गर्छिन् । ‘काम बाँडफाँड गर्दा आफूलाई सहज हुन्छ अरुले सिक्ने मौका पाउँछन्,’ उनले भनिन् ।

पन्त बैंकको सिइओ मात्र होइन राजदूत पनि बन्ने लक्ष्य छ । त्यसकै पूर्व तयारीका लागि उनले अहिले राजनीति शास्त्रमा पिएचडी पनि गरिरहेकी छिन् । बैंकिङ करिअरपछि कुटनीति क्षेत्रमा काम गर्ने इच्छा जागेको हो । अहिले बैंकिङ क्षेत्रमा काम गर्दाको नेटवर्क र रिलेसनलाई उपयोग गर्ने उनको रणनीति छ ।सायद त्यसले नै पन्तको डिप्लोमेट बन्ने आकांक्षा जागेको हुनुपर्छ । ‘हरेक नेटवर्कको मान्छे बैंकसँग ठोकिन आइपुग्छ । ‘बैंकिङ नेटवर्कमा आउनु नपर्ने कोही पनि छैन,’ उनले भनिन्, ‘त्यो रिलेसनलाई उपयोग गर्नुपर्छ ।’

डिप्लोमेट क्षेत्रमा पनि काम गर्ने इच्छा भएकाले नै राजनीति शास्त्र अध्ययन गरेको बताइन् । ‘बैंकिङ क्षेत्रको उच्च पदमा पुगेर कुटनीतिक क्षेत्रमा प्रवेश गर्ने योजना छ,’ पन्तले हाँस्दै भनिन्, ‘राजदूत बन्ने लक्ष्य छ ।’पन्त पढाइमा अब्बल छिन् । कक्षामा कहिलै दोस्रो हुनु परेन । प्रायः स्कुल टप गर्थिन् । २०५९ सालको एसएलसीमा कन्चनपुरबाट ८४ प्रतिशत अंक ल्याएर एसएलसीमा जिल्ला टपिन् । त्यति मात्र होइन स्नातक तहमा ०.०१ प्रतिशत कम हुँदा गोल्ड मेडलबाट वञ्चित हुनुपर्दाको क्षण उनको जीवनमै दुःखद् क्षण हो । ‘प्वाइन्ट जिरो वान प्रतिशतले गोल्ड मेडल पाउनबाट वञ्चित भएँ,’ उनले भनिन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेकी पन्त भविस्यमा ‘डिप्लोमेट’को लक्ष्यलाई ध्यानमा राखेर राजनीति शास्त्रमा पिएचडी (विद्यावारिधि) गर्दैछिन् । त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्दै गरेकी पन्तले आफ्नो कामसँगै पढाइलाई पनि सँगसँगै अघि बढाएकी छिन् । ‘अहिले त पिएचडी अध्ययन गर्दैछु,’ उनले भनिन्, ‘ज्ञान लिनका लागि फुर्सद हुनासाथ पढ्छु ।’ सिद्धनाथ साइन्स क्याम्पसबाट आइएसस्सी पढेकी पन्तले भिएसनिकेतनबाट बिबिए र काठमाडौं युनिभर्सिटीबाट एमबीए गरेकी हुन् ।बैंकिङ क्षेत्रमा काम गर्दै गरेकी पन्त किन राजनीति शास्त्रमा पिएचडी गर्दै छन् त ? ‘डिप्लोमेट क्षेत्रमा काम गर्ने लक्ष्य भएकाले लङ टर्म प्लानिङमा पिएचडी गर्न लागेकी हुँ,’ उनले भनिन् ।

अफिसको कामसँगै अहिले उनी पढाइमा व्यस्त छिन् । शुक्रबार र शनिबार पिएचडीको कक्षा लिन त्रिभुवन विश्वविद्यालय पुग्छिन् । ‘ज्ञान नै प्रकाश हो, यो नभई हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौं,’ भन्ने महात्मागान्धीको वाणिबाट पनि उनी प्रभावित छिन् । त्यसैले उनी अहिले पनि निरन्तर अध्ययन गर्छिन् । पढ्नमा धेरै रुचि छ । उपन्यास, बायोग्राफी, समसाययिक विषय, बेस्ट सेलर बुकहरु अध्ययन गर्छिन् । ‘अध्ययन गर्दा ज्ञान प्राप्ति र छुट्टै आनन्दानूति हुन्छ,’ पन्तले भनिन् । अध्ययनले उनलाई थप आत्मबल बढाउन र कार्यक्षेत्रमा नयाँ–नयाँ काम गर्न प्रेरणा मिलेको छ ।

त्यही अब्बलता र क्षमताले अवसर पाएकी हुन् । त्यसैले आफ्नो करिअरमा पनि उनलाई पछि फर्किनु परेको छैन । चाहेर मात्र सबैले पद प्राप्त गर्न सक्दैन । तर, रस्मी त्यसमा सचेत छिन् । उनमा आफ्नो लक्ष्य पूरा गर्न सक्छु भन्ने दृढ अठोट र आत्मविश्वास देखिन्छ । ‘मिहिनेत मुख्य कुरा हो,’ उनले भनिन्, ‘सम्बन्धित विषयमा दख्खलता प्रस्तुत गर्न नसके अवसर नपाउने भन्ने हुँदैन ।’कुनै पनि प्राप्तिमा सन्तुष्ट हुनुहुँदैन भन्ने उदाहरण हुन् पन्त । सानै उमेरमा बैंकको उच्च पद । यसमै सन्तुष्टी प्राप्त गर्न सक्ने अवस्था थियो । तर, पन्तमा थप केही नयाँ–नयाँ कुरा सिक्ने र काम गर्ने आकांक्षा छ ।

आफूले पाएको सफलतामा मात्र चित्त बुझाएर बस्न हुँदैन भन्छिन् पन्त । ‘कुनै पनि प्राप्तिमा सन्तुष्ट भएर बस्न हुँदैन,’ पन्तले भनिन्, ‘थप अप्सन र अवसरका लागि आकांक्षा लिएर मिहिनेत गरिरहनु पर्छ ।’उनले आफ्नो सफलतामा शिक्षालाई नै प्रमुख माध्यम ठान्छिन् । शिक्षित परिवारमा जन्मिएकी पन्तले घरसँगै विद्यालयमा राम्रो शिक्षादीक्षा पाइन् । तर, एलएलसीसम्म अध्ययन गर्दा १३ वटा स्कुल फेरिन् । उनका बाबु हेमराज पन्त न्यायाधीश र आमा मिना गृहिणी हुन् । पन्तले घरबाट पनि राम्रो शिक्षादीक्षा पाइन् । यद्यपि, स्कुले जीवनमा अध्ययन गर्दा उनले जति तनाव सायद कमैले भोग्नु परेहोला ।

एकै शैक्षिक सत्रमा दुईवटा विद्यालयमा पनि पढिन् । ‘बुवाको जता सरुवा हुन्थ्यो त्यता नै जानुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘१० वर्षमा १३ स्कुलमा पढेँ ।’ एउटै कक्षामा दुई विद्यालयमा पढ्नु परे पनि उनी कक्षामा कहिल्यै दोस्रो भइनन्, सधैं प्रथम र स्कुल टपर । उनको त्यही क्षमताले नै यो स्थानमा पुग्न सफल भएकी हुन् । ‘कहिले शैक्षिक सत्रको आधामा बुवाको सरुवा हुन्थ्यो,’ उनले भनिन्, ‘फेरि अर्को जिल्लाको अर्को विद्यालयमा भर्ना हुन्थेँ ।’सन् २०१५ मा बैंकमा अफिसरबाट करिअर सुरु गरेकी पन्तले आत्मविश्वास र मिहिनेतले नै सफलता प्राप्त गरेको बताउँछिन् ।

सुरुमा उनी एक वर्ष काम गरेर विदेश पढ्न जाने योजनामा थिइन् । अमेरिकामा इन्टरनेसनल रिलेसन (आइआर) मा स्कलरसीप पाए पनि स्वदेशमै अध्ययनसँगै करिअरमा पिकअप लिन सकिन्छ भन्ने आत्मविश्वासले यतै काम गरिन् ।मुलुकमा बेरोजगारी समस्या छ । तर, बैंकिङ क्षेत्रमा अहिले पनि दक्षजनशक्तिको अभाव रहेको पन्तको अनुभव छ । ‘कर्मचारी नियुक्ति गर्दा अन्तर्वार्ताको क्रममा दक्षजनशक्तिको अभाव देखिन्छ,’ उनले भनिन्, ‘विषयवस्तुमा निपूर्णता पाइँदैन ।’ बैंकिङ क्षेत्रमा सीप र ज्ञान भएको जनशक्ति आवश्यक रहेको बताउँछिन् ।

‘किताबी ज्ञानको योग्यता मात्र नभएर बजारमा प्रतिस्पर्धी क्षमताको जनशक्ति आवश्यक छ,’ उनले भनिन्, ‘पाठ्यक्रम पढेर मात्र पुग्दैन ।’मुलुकको राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिला पुगे पनि बैंकिङ क्षेत्रमा महिलाको संख्या कम छ । २८ वाणिज्य बैंकमा मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेली बाहेक अरु बैंकमा अहिले महिला सिइओ छैनन् । अन्य क्षेत्रका उच्च पदमा महिला पुगे पनि बैंकिङ क्षेत्रको उच्च पदमा महिला नपुग्नुमा समाजको माइन्ड सेट पनि कारक रहेको उनको बुझाइ छ ।आफ्नो क्षमताले आउँदा पनि आफै आएको होइन भनेर हेर्ने प्रचलन रहेको उनले बताइन् ।

‘महिलालाई हेर्ने समाजको माइण्ड सेट पनि नकारात्मक छ,’ उनले भनिन्, ‘समाजको माइन्ड सेट परिवर्तन गर्नुपर्छ ।’ धेरै ठाउँमा महिलालाई क्षमताअनुसार अवसर नदिएको बताइन् । ‘धेरै महिला परिवार र समाजबाट बाँधिएका छन्,’ उनले भनिन्, ‘वर्किड स्टेसनमा पनि महिलाले त गर्न सक्ला र ? भन्ने टेन्ड्र पनि छ, यसले मनोबल घटाउँछ ।’ तर उनले खुल्ला प्रतिस्पर्धामै विश्वास गर्छिन् । ‘आरक्षणमै भर पर्नु हुँदैन,’ उनले भनिन्, ‘प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुपर्छ ।’ बैंकको जुनियर पोजिसमा महिला सहभागिता धेरै राम्रो भए पनि सिनियर पोजिसनमा संख्या कम रहेको उनले बताइन् ।

व्यक्तिको सफलतामा परिवारको पनि योगदान आवश्यक रहेको पन्त बताउँछिन् । पन्तले यो पोजिसनमा पुग्न परिवारको साथ छ । ‘परिवारको सपोर्ट नभएको भए यो अवस्थामा आउने थिइनँ,’ उनले भनिन् । पन्त आफ्नो काम गर्न परिवारबाट स्वतन्त्र छिन्। त्यसै ले अरुलाई पनि स्वतन्त्र छोड्नुपर्ने बताउँछिन् । महिलाको सफलताका लागि छोरीलाई पनि छोरालाई जस्तै स्वतन्त्र छाड्नु पर्ने बताउँछिन् । पारिवारिक बन्धनले काम गर्न अप्ठ्यारो पार्ने उनको बुझाइ छ । ‘छोराहरु जति स्वतन्त्र हुन्छन् छोरीलाई पनि त्यही स्वतन्त्र ता दिए प्रगति गर्न सक्छन्,’ उनले भनिन् ।

‘घरमा ढिला जाँदा कहाँ गयो, किन गयो भनेर छोरीहरुले धेरै प्रश्नको सामना गर्नुपर्छ,’ उनले भनिन्,‘महिलालाई परिवारले यस्तो प्रश्न गर्नु हुँदैन ।’बाहिरबाट हेर्दा बैंकिङ करिअर लगाम लगाएजस्तो देखिए पनि काम गर्दा फरक भएको रस्मीको अनुभव छ। ‘बैंक मा गयो काम गर्‍यो, तलब बुझ्यो, बोनस खायो, यत्तिमा सीमित छैन बैंकिङ क्षेत्र,’ उनले भनिन् । ‘बैंकमा एउटै काम गर्नुपर्छ मोनोटोनस होला भन्ने थियो,’ पन्तले भनिन्, ‘सोचे भन्दा फरक रैछ ।’ केही समय काम गरेर चित्त नबुझे आइएनजीओमा सिफ्ट गर्ने योजना बनाएर बैंकिङ क्षेत्रमा प्रवेश गरेकी पन्त अहिले यही क्षेत्रमा जमेर काम गरेकी छिन् ।

‘बैंकिङ करिअरमा प्रवेश गरेपछि फरक पाएँ,’ उनले भनिन्, ‘यहाँ कोर बैंकिङ मात्र मल्टीपल सेक्टर रैछ । अहिले कुनै मोनोटोनस छैन ।’ बैंकिङ क्षेत्रको फराकिलो दायरा भएको अनुभव सुनाइन् ।‘सायद बैंकिङ क्षेत्रसँग नजोडिने कोही पनि छैन,’ उनले भनिन्, ‘वित्तीय आवश्यकता नभएको कोही हुँदैन । त्यसैले सबै क्षेत्रका मानिस कतै न कतैबाट जोडिन आइपुग्छन् ।’ कामको बोझ धेरै भएकाले पर्सनल लाइफ भने कम भएको उनले बताइन् । उनी मल्टिपल जिम्मेवारीमा छन् । तर बैंकिङ क्षेत्र पनि डाइभर्स भएको बताउँछिन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *