भारतीयलाई नेपाली नागरिकता दिलाउने राजपाका वडाध्यक्ष पक्राउ

एजेन्सी, पर्सा। बहुदरमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेली नक्कली नागरिकता काण्डमा पक्राउ परेका छन् ।

तेलीले भारतीय नागरिकलाई नेपाली नागरिक र झूटाे विवरणलाई सही ठहर्याई सिफारिस गर्नुका साथै सनाखत समेत आफूले गरी नागरिकता दिलाएको अभियोगमा उच्च अदालत जनकपुर वीरगञ्जले दोषी ठहर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र महुवन प्रहरी चौकीको संयुक्त टोलीले मंगलबार वडाध्यक्ष तेलीलाई उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०४८ सालको निर्वाचनमा रामनगरी गाविस अध्यक्ष पदमा निर्वाचित तेलीले आफ्ना छोरीज्वाइ भारतीय नागरिक विरेन्द्र कुमार साहलाई आफ्नो छोरा बनाएर पिताको ठाउँमा आफैँले सनाखत गरी नागरिकता दिलाएको कुरा भिमराज सहनीले अदालतमा जाहेरी दिएपछि सो जाहेरी उपर छानबिन हुँदा वडाध्यक्ष पुनिलाल साह दोषी ठहर भएका हुन् ।

सो सम्बन्धमा उच्च अदालत जनकपुर अस्थायीका न्यायधिश राजेन्द्र खरेल र डिल्लीराज आचार्यको संयुक्त इजलासले २०७५ साल पुष १६ गते फैसला गरेको थियो । दोषी ठहर भइसकेपछि वडाध्यक्ष पक्राउ परेका छन् भने उनका ज्वाइँ भारत लतियाही पूर्वी चम्पारण विहार स्थायी घर भएका विरेन्द्र कुमार साह फरार छन् ।

वडाध्यक्ष साहले रापजाको टिकटमा वडाध्यक्ष पद जितेका हुन् । जाहेरीकर्तालाई वडाध्यक्षका पक्षधरले ज्यान मार्ने धम्की दिएको भिमराज सहनीले बताएका छन् । वडाध्यक्ष पक्राउ पर्ने वित्तिकै उनका आफन्त र विभिन्न राजनीतिक दलका नेताहरुले प्रहरीलाई दबाव दिने क्रम बढेको छ ।

– इरफान खान

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *