पेट्रोलियम पाइपलाइन उद्घाटनपछि मोदीको ३ वटा ट्वीट नेपालीमा : नेपाल-भारत मित्रताको विशेष दिन !

एजेन्सी, काठमाडौं। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गर्नुभएको छ । मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र मोदीले हैदरावाद हाउसबाट रिमोट थिचेर उक्त पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेका थिए ।

पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलमार्फत तीन वटा ट्वीट नेपाली भाषामा गर्नुभएको छ । ट्वीट गर्दै मोदीले ‘भारत–नेपाल मित्रताको विशेष दिन’ बताउनु भएकाे छ ।

‘भारत–नेपाल मित्रताको विशेष दिन ! मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गर्यौं’, पहिलो ट्वीटमा मोदीले लेख्नुभएकाे छ ।

त्यसैगरी दोस्रो ट्वीटमा उहाँले पाइपलाइन परियोजना निर्धारित समयभन्दा छिटो सकिएको बताउनुभएकाे छ ‘तपाईहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो’, ट्वीटमा मोदीले लेख्नुभएकाे छ । निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ।

तेस्रो ट्वीटमा उहाँले पाइपलाइनबाट नेपालका जनताले सस्तो, सुलभ मूल्यमा सफा पेट्रोलियम पदार्थ पाउने विश्वास पनि व्यक्त गर्नुभएकाे छ । ‘प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै ! मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ। म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ।’ दाेस्राे ट्वीटमा मोदीले लेख्नुभएकाे छ ।

भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको बताइएको छ ।

पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गर्नुभएको छ ।

तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने आफ्नो विश्वास भएको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

उहाँले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *