इतिहासमा पहिलो पटक सम्पत्ति सार्वजनिक गर्नुहुने प्रधानसेनापति ज्यू भनसुन गरेर विभिन्न मिसनमा विदेश जाने प्रथा बन्द होस् !

एजेन्सी, काठमाडौं। सम्भवत् इतिहासमै पहिलो पटक नेपाली सेनाका प्रधान सेनापतिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेका एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति सार्वजनिक गरेका छन् । सेना भित्रको कुरा एकिन गरेर भन्न सक्दिन सम्पत्ति विवरण सार्वजनिक गरिन्थ्यो कि गरिन्नथ्यो, तर आम सर्वसाधारलाई समेत आफ्नो चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलो भएका छन् ।गौरवशाली इतिहास बोकेको नेपाली सेनालाई बारम्बार विवादमा पार्ने कोशिसहरु भए ।

नेपाली सेनालाई यो वा उ बाहानामा कमजोर बनाएर मुलुकको सुरक्षा नीतिमा दुरगामी असर पार्ने मौका ढुकेर बसेका छिमेकीबाट बच्न पनि सेना भित्र व्यापक सुधार चाहिएको छ ।‘आयो गोर्खाली’ भन्ने सुन्दा दुश्मनको मुटु हल्लिने गौरवशाली इति हास बोकेको सेनालाई ठेकेदार नै बनाएर छोड्लान् भन्ने पिर कायमै छ । यो पिरबाट आम सर्वसाधारणलाई मुक्त गराउने जिम्मेवारी चिफ साबका काँधमा फूली जत्तिकै सजिएर बसेको छ । सेना अनुसासनको प्रतिक हो, तर आइस्योस् र गइस्योस्, जस्ता चाकरीको जरुरत छैन भनेर पनि भन्न अब ढिला भैसक्यो ।

अनुसासन भनेको चाकरी होइन । सुधारको क्रम जारी रहँदा श्रीमतीहरुलाई रानी साहेब भन्ने चलनपनि बन्द होस् भन्ने सल्लाह दिन चाहे । बन्द नै भइसकेको भए चिफ साबलाई धन्यवाद । अझै पनि सेनामा भर्ती गराइदिने नाममा शहरका गल्लीहरुमा लाखौंको चलखेल हुन्छ । यस तर्फपनि प्रधानसेनापति ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।यो देशको माटो शिरमा लगाएर सेवा गर्न क्षमता भएर मात्र पुगेको छैन, गरिखाने माटो नै बेचेर विचौलियालाई बुझाउनु पर्ने बाध्यतामा कोही नेपाली नपरोस् चिफ साब।

विभिन्न मिसनमा विदेश जाने कोटामा भनसुन चल्छ, रेट नै राखेर बसेका विचौलियाले तल्लो तहका सिपाही साथीहरुलाई बहुत पिरोलेको छ ।ड्राइभिङ जानेको निहुँमा एउटै मान्छे ३÷४ पटकसम्म विदेश गएर टन्न कमाउने अवसर पाउँछ । तर अरुलाई जेब्राक्रसिङ सिकाएर त्यो अवसरमा दिइदैन । अनुसासनको घेरा भित्र बसेर केही सैनिक साथीहरुले सुटुक्क हाम्रो कार्यालयमा आएर हामीलाई गुनासो गरेका छन् ।इतिहासमा पहिलो पटक सम्पत्ति सार्वजनिक गर्नुहुने प्रधानसेनापति ज्यूले तल्लो तहकाहरुसँग खुलेर अन्तरक्रिया गर्नुहुनेछ भन्ने कुरामा विश्वास नगर्नु पर्ने मैले त देखिन ।

अर्को कुरा रिटायरमेन्टको नीति निर्माण तहमा तल्लो तहका सिपाही साथीहरुको भूमिका हुँदैन । माथिल्ला तहका उच्च पदस्थहरु रिटायरमेन्ट हुने बर्ष थप्न चाहनुहुन्छ ।किनकी माथिल्लो तहमा भएका अफिसरहरुको तलब सुविधा स्वाभावैले बढी हुन्छ । तर यही नियम तल्लो दर्जाका साथीहरुलाई लागू हँदा निकै ठूलो मारमा पर्ने पो देखिन्छ । चाँडै पेन्सन पाउन पाए कतै सेक्युरेटी गार्ड बनेर वा विदेशै गएर भएपनि उमेर छँदै केही पैसा कमाउने चाहना भएकाहरुको पीडा कसले सुन्छ ?देशको पीडा त उही हो चिफ साब ! एउटा सैनिकको तलबले सिंगो परिवारको बडेमानको सपना कसरी पूरा गर्ला र ?

त्यसैले २÷४ बर्ष अघि नै पेन्सन पाके थप कमाईको जोहो गर्ने रहर बोकेका धेरै जवानहरु नेपाली सेनामा छन् । बोलि मेरो मुखबाट निस्के पनि भावना चाँही अधिकांश सैनिक जवानहरुको हो, जस्तो लाग्छ । र अन्त्यमा आफ्नो सम्पत्ति सार्वजनिक गरेसँगै भूतपूर्वहरुको पनि सम्पत्ति सार्वजनिक गर्ने अभियान समेत चाल्न सक्नु भो भने तपाईलाई गोडा फाट्दै सर्तक हुँदै टुटुल्को उठ्ने गरी सलाम ठोक्नेछु ।ठेक्का पट्टाका पूराना फाइलहरु धुलोले पुरिएका छैनन् भने गौरवशाली सेनाको बर्दी लगाएर यसको गरिमालाई धुलो छ्याप्ने धेरैका कर्तुत बाहिर आउन सक्छन् । इतिहास रच्नुहुने प्रधानसेनापति ज्यू यस मामलामा कतै कन्फ्युजन हुनुुहने छैन भन्ने कुरामा विश्वस्त छु ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *