पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले गरे आत्महत्या

एजेन्सी, ओखलढुंगा। ओखलढुंगामा पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ बर्षीय नबिन परियारले आइतबार आत्महत्या गरेका हुन् ।

खोटाङको रावाबेसी गाउँपालिका–२ माइती भई गत जेठ महिनाको अन्तिम साता वैवाहिक बन्धनमा बाँधिएकी २१ वर्षीया श्रीमती गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले एसईईको मौका परीक्षा दिन माइती गएको समयमा उतै झुन्डिएर आत्महत्या गरेकी पारिवारिक श्रोतलाई उद्धृत गर्दै भदौरे–६ का वडा अध्यक्ष कृष्ण बहादुर केप्छाकी मगरले बताए ।

उनीहरु वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । तर, श्रीमती परीक्षा दिन माइती जाने भएपछि नविन घर आएका थिए । परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि नविन बिछिप्त बनेका थिए ।

गंगाले आत्माहत्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी बियोगमा आत्महत्या गरेको पुष्टि भएको छ । घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नबिनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठीसमेत फेला परेका छ । चिठ्ठीमा उनले ‘ प्यारी श्रीमती ! तिमी म भन्दा अगाडि गयौ । म पनि तिम्रो पछिपछि आउदैछु । यो कदम मैले कसैको करकापले लिएर हैन ।’ लेखेका छन् ।

दुईभाई छोरा रहेको परिवारमा कान्छो छोरा–बुहारी दुबैले आत्महत्या गरेपछि परिवार बिछिप्त बनेको छ । आत्महत्यापछि नविनको शबलाई पोष्टमार्टम पश्चात दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ ।

– रामहरि श्रेष्ठ

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *