बिजुलीबाट चल्ने बस सञ्चालनमा आयो, रक्षामन्त्री ईश्वर पोखरेलले गरे उद्घाटन

एजेन्सी, काठमाडौं। सुन्दर यातायातले काठमाडौंमा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा चल्ने उक्त बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

यो निजी क्षेत्रबाट सञ्चालित पहिलो बिजुली बस सेवा हो । सरकारले २०७५ कात्तिक ६ गते बिजुली बस सञ्चालन गरेको थियो तर उद्घाटन भएको एक वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन । योभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो । अहिले ट्रली बस बन्द भएको एक दशकभन्दा बढी भइसकेको छ ।

भृकुटीमण्डपमा एक कार्यक्रमका बीच बसको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले यो सानो सुरुआती प्रयास भए पनि विकासका लागि यो परिवर्तनको संवाहक र वातावरणमैत्री हुने बताए। यस्ता काम गर्दा धेरै कठिनाइहरू आइपर्ने बताउँदै मन्त्री पोखरेलले भने, ‘यसका सञ्चालकहरुले पनि धेरै कठिनाइहरू भोगेको होलान्, संस्था जन्माउनु ठूलो कुरो होइन, यसलाई निरन्तरता दिन ठूलो कुरो हो ।’

सञ्चालनका क्रममा विभिन्न कठिनाईहरु आइपरे सुन्दर यातायातलाई सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्रि पोखरेलले जनाए । उनले भने, ‘निरन्तरता दिने क्रममा कुनै कठिनाइ आइपरे भने सुन्दर यातायातलाई पूर्ण सहयोग गर्न सरकार तयार छ ।’ मन्त्रि पोखरेल बिजुली बसको उद्घाटन गरेपछि बिजुली बस चढेर टुँडिखेल घुमेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *