मलेशिया रोजगारी खुलाउन सरकारलाई थप सकस, पुरानै स्वास्थ्य एजेन्टलाई मान्यता दिने उसकाे अडान

एजेन्सी, काठमाडौं। १५ महीनादेखि ठप्प रहेको मलेशियाको रोजगारी खुलाउन सरकारलाई सकस परेको छ । मलेशियाले आफ्ना पुरानै संस्थाबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने पत्र पठाएपछि रोजगारी खुलाउन सरकारलाई सकस थपिएको हो ।

यसअघि मलेशियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि लिने बताएको थियो । यसै क्रममा सरकारले पुराना ३६ सहित १२२ ओटा स्वास्थ्य संस्थाको सूचीकरण गर्‍यो । तर, हालै मात्र नेपालस्थित मलेशियाली दूतावासले आफ्ना पुराना ३७ संस्थाले गरेको स्वास्थ्य परीक्षणलाई मात्र मान्यता दिने पत्र पठाएको छ ।

‘कुनै पनि बहाना नबनाई पुरानै संस्थाबाट स्वास्थ्य परीक्षण गराएर कामदार पठाउनू भनिएको छ, यसबाट मलेशियाको रोजगारी खुलाउन थप समय खर्चिनुपर्ने देखियो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले भने ।

स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका नाममा बढी पैसा असुलेको आरोपमा मलेशियाका एजेन्ट मार्फत कामदार पठाउन सरकारले रोकेको थियो । मन्त्रालय स्रोतका अनुसार, श्रममन्त्री गोकर्ण विष्ट पुरानै स्वास्थ्य संस्थाहरूको सिन्डिकेटका पक्षमा छैनन्, तसर्थ नयाँ स्वास्थ्य संस्था थप गर्ने विषयमा मन्त्रालयले मलेशियासँग थप छलफल गर्ने तयारी गरेको खबर आजकाे आर्थिक अभियान दैनिकमा छ ।

गत कात्तिक १२ मा श्रममन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधन मन्त्री कुलासेगरनबीच काठमाडौंमा श्रम सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *